प्रभु बैंकले कमायो डेढ अर्ब नाफा |
काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकले डेढ अर्ब नाफा कमाएको छ ।
सो अवधिसम्ममा बैंकले १ अर्ब ५१ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.८७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९९ करोड ९८ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.७२ प्रतिशत बढेर २ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४२.७३ प्रतिशत बढेर २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । सो अवधिसम्ममा बैंकको १८ करोड ८२ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण खुद ब्याज आम्दानीको तुलनामा सञ्चालन मुनाफा वृद्धिदर धेरै देखिएको हो ।
११ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब १८ करोड ६१ लाख रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब १७ करोड रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड हुँदा जगेडा कोषमा ३ अर्ब ८५ करोड रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब २१ करोड रुपैयाँ सञ्चित थियो ।
पछिल्लो ६ महिनामा बैंकको निक्षेप २५.८५ प्रतिशत बढेर १ खर्ब ६२ अर्ब २ करोड रुपैयाँ पुगेको छ भने कर्जा २६.८२ प्रतिशत बढेर १ खर्ब २६ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।
कर्जा लगानी बढेपनि बैंकको निष्क्रिय कर्जा भने घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३.१२ प्रतिशत रहेकोा बैंकको यस्तो कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर २.०६ प्रतिशतमा झरेको छ । समीक्षा अवधिमा बैंकको बेस रेट ९.४५ प्रतिशतबाट ७.२४ प्रतिशतमा झरेको छ भने स्प्रेड ४.८३ बाट ३.६४ प्रतिशतमा झरेको छ।
खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५ पैसाबाट बढेर २६ रुपैयाँ ७७ पैसा पुगेको छ । त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात १५.३२ गुणा मात्र रहेको छ ।