ज्योति विकास बैंकको १३औं वार्षिक साधारण सभा सम्पन्न |
काठमाडौं । ज्योति विकास बैंकले १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको माघ १४ गते बुधवार भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्त्वमा सम्पन्न भएको १३ औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।
उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७६∕७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई १० प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ४८ लाख २३ हजार रुपैयाँ पुगेको छ ।
साथै, साधारणसभाले बैंक संस्थापक सेयरधनी समुहको तर्फबाट हरि प्रसाद, हरि चन्द्र खड्का, सन्तोष अधिकारी तथा सर्वसाधारण सेयरधनी समुहको तर्फबाट नरेश राज आचार्य र ध्रुव कोइरालालाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।
बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६∕७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तिय विवरणहरू उपर छलफल गरी स्वीकृत गरेको छ ।