सानिमा बैंकको खुद नाफा १ अर्ब ६ करोड रुपैयाँ |
काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा घटेको देखिएको छ ।
सो अवधिसम्ममा बैंकले १ अर्ब ६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १४ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेपछि बैंकको खुद नाफा घट्न दबाब पुगेको हो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८९ करोड २६ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.९८ प्रतिशत घटेर १ अर्ब ९९ करोड रुपैयाँमा सीमित भएको छ भने सञ्चालन मुनाफा ७.२८ प्रतिशत घटेर १ अर्ब ५० करोड रुपैयाँमा झरेको छ ।
पुस मसान्तसम्ममा ९ अर्ब ६८ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ६८ लाख रुपैयाँ र शेयरधनी कोषमा ८९ करोड २६ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी ८ अर्ब ८० करोड हुँदा जगेडा कोषमा २ अर्ब ८२ करोड रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब १९ करोड रुपैयाँ सञ्चित थियो ।
पछिल्लो ६ महिनामा बैंकको निक्षेप २.७९ प्रतिशत बढेर १ खर्ब १० अर्ब २४ करोड रुपैयाँ पुगेको छ भने कर्जा ११.८८ प्रतिशत बढेर १ खर्ब १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।
कर्जा लगानीसँगै बैंकको निष्क्रिय कर्जा पनि सामान्य बढेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ०.४१ प्रतिशत रहेको बैंकको यस्तो कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ०.५८ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा बैंकको बेस रेट ९.२९ प्रतिशतबाट ६.८३ प्रतिशतमा झरेको छ भने स्प्रेड ५.०४ बाट ४.२१ प्रतिशतमा झरेको छ।
खुद नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ७ पैसाबाट घटेर २१ रुपैयाँ ९६ पैसामा सीमित भएको छ। त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ २८ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात १६.७६ गुणा रहेको छ ।