फ्रिक्वेन्सीले पार्ने असरबारे दूरसञ्चार प्राधिकरणले शुरु गर्यो अध्ययन |
काठमाडौं । नेपालमा भित्र्याउनको लागि प्रस्ताव गरिएका फ्रिक्वेन्सी व्यान्डको असरबारे नेपाल दूरसञ्चार प्राधिकरणले अध्ययन सुरु गरेको छ ।प्राधिकरणले कुन कुन बिषयमा असर पार्ने र समस्याको समाधानबारे अध्ययन गर्ने छ ।
फ्रिक्वेन्सी सम्बन्धी अध्ययनका लागी नेपाल दूरसञ्चार प्राधिकरणले लागि पुल्चोक इन्जिनियरिङ्ग क्याम्पससँग समझदारी गरेको छ ।दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र पुल्चोक इन्जिनियरिङ् क्याम्पसका डिन प्रा.डा शशीधर जोशीले समझदारीपत्रमा हस्ताक्षर गर्दै फ्रिक्वेन्सीले पार्ने असर र समाधानबारे अध्ययन थालेको हो ।
हाल प्रस्ताव गरिएका फ्रिक्वेन्सी व्याण्डले असर पार्ने वा नपार्ने बिषयमा अनुसन्धान गर्ने छ । सो अनुसन्धानको लागि क्याम्पसले सिमुलेसन तयार पार्ने र त्यसको लागि आवश्यक पर्ने उपकरणहरु र डिभाइसहरु ल्याउन प्राधिकरणले सहयोग गर्नेछ । प्राधिकरणका नियमन महाशाखाका निर्देशक अम्बर स्थापितले सो अध्ययनले आगामी दिनमा प्राधिकरणलाई फ्रिक्वेन्सी बितरण गर्न र व्यवस्थापन गर्न सहयोग पुग्ने बताउँछन् ।
‘हामीले हाल प्रस्तावित फ्रिक्वेन्सी ब्याण्डहरुले अन्य फ्रिक्वेन्सीहरुलाई कस्तो असर पर्छ भनेर अनुसन्धान गराउन लागेका हौं, पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसले सो अनुसन्धान गरेर हामीलाई रिपोर्ट उपलब्ध गराउनेछ,’ निर्देशक स्थापितले भने ।
पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसले ९ महिनाभित्र नियामक प्राधिकरणलाई अनुसन्धान प्रतिवेदन बुझाउने छ ।
गत मंसिरमा प्राधिकरणले सरकारलाई विभिन्न व्यान्डका फ्रिक्वेन्सी छन् चलाउने सकिने भन्दै प्रस्ताव दर्ता गराएको थियो । प्राधिकरणले ७ सय, ८ सय, १३ सय, १८ सय,२२ सय २३ सय २८ सय , ३२ सय व्यान्डका फ्रिक्वेन्सी फाइबजीका लागि उपयुक्त रहेको ठहर गरेको थियो ।