माघ १८ गतेदेखि मञ्जुश्री फाइनान्सले ऋणपत्र जारी गर्ने |
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले माघ १८ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । सो ऋणपत्रको नाम‘९.५ प्रतिशत मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र, २०८५’ रहेको छ ।
फाइनान्सले प्रतिऋणपत्र एक हजार अंकित मूल्यका ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल ऋणपत्रमध्ये ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ । बाँकी २० करोड रुपैयाँ बराबरको २ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री गर्न लागेको हो ।
सो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । ऋणपत्र निष्काशन तथा बिक्री छिटोमा माघ २१ गते बन्द हुनेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि फागुन २ गतेसम्म लम्बिनेछ ।
सो ऋणपत्रको अवधि ८ वर्षको रहेको छ । फाइनान्सले वार्षिक ९.५ प्रतिशतका दरले हरेक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गरिने जनाएको छ ।
ऋणपत्र निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले फाइनान्सलाई केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित मानिन्छ ।
ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक एनआइएबिएल एस लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि आस्बा सेवामा सहभागित बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।