अब जापानी खाना ‘बेन्तो’ नेपाली बजारमा |
काठमाडौं । होक्काइदो रामन हाउसले भाटभटेनी सुपरमार्केटसँगको सहकार्यमा जापानी खाना ‘बेन्तो’ नेपाली बजारमा ल्याएको छ ।
आजदेखि बिक्री सुरु भएको ‘बेन्तो’ भाटभटेनी सुपर मार्केटको पहिलो स्टोर नक्सालस्थित भाटभटेनीबाट किन्न पाइने रोमन हाउसले जनाएको छ ।
यो प्राय: भात, नुडल, माछा, मासु, अचार र पकाइएको तरकारी समावेश गरिएको बनाइएको खाना हो ।
यसलाई एक जनालाई पुग्ने खाना पसल र रेष्टुँराबाट ‘टेक आउट’ अथवा घरमै बनाइएको पनि बाहिर बोकेर जान मिल्ने खाना भनेर बुझिन्छ । यसको सुरुवात जापानमा भएको हो ।
‘बेन्तो’ १८ प्रकारका भए पनि हाललाई ५ प्रकारका मात्रै उपलब्ध हुने होक्काइदो रामन हाउसले जनाएको छ ।
बिस्तारै बेन्तोको प्रकार भाटभटेनीका अन्य आउटलेट र आफ्नै मिनी आउटलेट सञ्चालन गरी काठमाडौं, पोखरा, चितवन, विराटनगर लगायतका अन्य शहरी क्षेत्रमा बढाउदै जाने होक्काइडो रामेन हाउसका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले बताए ।
‘बेन्तो’ को मूल्य तीन सय रुपैयाँदेखि बढीमा ८ सय रुपैयाँसम्म रहेको छ । भाटभटेनीको भेजिटेबल स्टोरबाट तयारी प्याकिङका साथ पाइने ‘बेन्तो’ आवश्यकताअनुसार जतिबेला पनि खान सकिने तयारी खाना हो ।