शाइन रेसुङ्गा बैंकको अध्यक्षमा पौडेल |
बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको १२ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ ।
बुटवलमा सम्पन्न साधारण सभाले आगामी चार वर्षका लागि बैंकको सञ्चालक समिति अध्यक्षमा थानेश्वर पौडेललाई चयन गरेको हो ।
यस्तै सञ्चालक समिति सदस्यहरुमा संस्थापक शेयरधनीबाट डा. ताराप्रसाद उपाध्याय, ई. सुरज उप्रेती र शर्मिला श्रेष्ठ तथा सर्वसाधारण शेयरधनीबाट मोहन चापागाई र विरेन्द्र विष्ट चयन भएका छन् । श्रेष्ठ र विष्ट नयाँ सञ्चालक हुन् । एकजना विज्ञ (स्वतन्त्र) सञ्चालक सदस्य भने पछि चयन गरिने जनाइएको छ ।
बैंकको शेयर पुँजी ३ अर्ब १ करोड ६३ लाख ४ हजार रुपैयाँ, निक्षेप ३२ अर्ब २९ करोड २४ लाख र कर्जा लगानी २७ अर्ब ११ करोड ५३ लाख रहेको छ ।
२०७७ असार मसान्तसम्म बैंकको चुक्ता पुँजी ३ अर्ब १ करोड ६३ लाख ४० हजार रहेकामा कूल सञ्चित वितरणयोग्य मुनाफाबाट १३ प्रतिशतले हुने रकम. ३९ करोड २१ लाख २४ हजार रुपैयाँ बोनस शेयर वितरणका लागि साधारणसभामा पारित भएको छ । बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी ३ अर्ब ४० करोड ८४ लाख पुग्ने छ ।
बैंकको कूल सम्पत्तिमा गत वर्षको तुलनामा ६४.३० प्रतिशतले वृद्धि भई ३५ अर्ब २६ करोड ९४ लाख पुगेको छ भने कूल निक्षेपमा गत वर्षभन्दा ६१.७६ प्रतिशतले वृद्धि भई ३० अर्ब ५८ करोड ९६ लाख पुगेको छ ।
यस्तै कूल कर्जा तथा सापटमा गत वर्षभन्दा ५४.२३ प्रतिशतले वृद्धि भई २५ अर्ब २ करोड ८२ लाख पुगेको छ भने बैंकको खुद मुनाफामा गत वर्षभन्दा १.९८ प्रतिशतले वृद्धि भई ४२ करोड ६७ लाख ४७ हजार रुपैयाँ पुगेको छ ।
हाल ७१ वटा शाखा र एक एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिइरहेको बैंकले निकट भविष्यमै संघीय राजधानी काठमाडौंसहित सुदूरपश्चिम प्रदेशमा पनि शाखा सञ्जाल विस्तार गर्ने तयारी गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।