बैंकलाई ब्रोकर लाइसेन्स दिन परिसंघको माग |

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघले बैंकलाई तत्काल ब्रोकर लाइसेन्स दिन माग गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाउँदै परिसंघले देशैभरि छरिएर रहेको आर्थिक स्रोत परिचालन गर्ने ध्येयका साथ शेयर बजारमार्फत बैंकहरुलाई ब्रोकर लाइसेन्स सहजरुपमा दिने व्यवस्था गर्न माग गरेको हो ।
यस्तै संस्थापक शेयर पब्लिक शेयरमा रुपान्तरण गर्न पाउनुपर्ने, वित्तीय क्षेत्रलाई अरू व्यवसाय सरह नै करको दर लागू गरिनुपर्ने माग परिसंघले गरेको छ । परिसङ्घका अध्यक्ष एवम् एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले वित्तीय साक्षरता, साना तथा मझौला उद्योगहरुको विकास विस्तारका लागि सहज वित्तीय पहुँच पुर्याउनका लागि आफूहरु तत्पर रहेको अर्थमन्त्रीलाई जानकारी गराएको थियो ।
यस्तै युवा तथा महिला उद्यमशीलताको विकास एवं विस्तार जस्ता विषयमा व्यावसायिक तालीम तथा प्रशिक्षण कार्यक्रम गर्नुपर्नेमा जोड दिइएको थियो । प्रतिनिधिमण्डलले व्यक्त गरेका सुझावलाई आफूले सकारात्मकरुपमा लिएको र त्यसलाई व्यावहारिक रुपमा कार्यान्वयन गरिने अर्थमन्त्री पौडेलले प्रतिबद्धता व्यक्त गर्नुभएको परिसंघले जनाएको छ ।