विदेशमा कोरोनाले मृत्यु हुने नेपालीको संख्या ३०० नाघ्यो |

लण्डन । विदेशमा कोरोना संक्रमणले मृत्यु हुने नेपालीको संख्या ३०० नाघेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)को साप्ताहिक रिपोर्टअनुसार यो साता थप दुईजनाको कोरोना संक्रमणले मृत्यु भएको पुष्टि भएको छ । योसँगै प्रवासमा मृत्यु हुने नेपालीको संख्या ३०१ पुगेको एनआरएनएले जनाएको छ ।
यो साता जर्मनी र भारतमा एक/एकजना नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो । कोरोना भाइरसका कारण जर्मनीमा रहेका नेपालीको मृत्यु भएको यो पहिलो घटसमेत हो । जर्मनीसँगै नेपालीको मृत्यु हुने देशहरुको संख्या २० पुगेको छ ।
एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सन्जीव सापकोटाका अनुसार यो साता जापान, साउदी अरब, युएई, पोर्चुगल र भारतमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।
शनिबार साँझसम्म विदेशमा ४९ मुलुकमा ४८ हजार ६ सय ३९ जना गैरआवासीय संक्रमित भएका छन् । सोही अवधिमा ४४ हजार ६ सय ७१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यो कुल संक्रमितको ९१ प्रतिशत रहेको हो ।