सुमन जोशीको अध्यक्षतामा प्राइभेट इक्विेटी एशोसिएसन गठन |
काठमाडौं । नेपालमा निजी लगानी प्रबर्द्धन गर्न भन्दै स्थापना भएका कम्पनीहरुले एशोसिएसन गठन गरेका छन् ।
नेपाल प्राइभेट इक्विटी एशोसिएसनका रुपमा उनीहरुले यस्तो संस्था गठन गरेका हुन् ।
नेपालमा बढ्दो निजी लगानी र उद्यम पुँजीलाई प्रबर्द्धन गर्ने काममा सहयोग पुर्याउने उद्देश्यका साथ संस्था स्थापना गरिएको संस्थापकहरुले बताएका छन् ।
नेपाल सरकारलाई निजी तथा बैकल्पिक लगानीका सन्दर्भमा नीति नियम बनाउने, जनचेतना अभिबृद्धि गर्ने तथा यो क्षेत्रको सम्भाव्यता उत्खनन् गर्नका लागि संस्था स्थापना गरिएको हो ।
यो संस्थामा अहिले ६ वटा संस्था सामेल भएका छन् । जसमा एक्सेलेटर नेपाल,टु नर्थ एसोसियट्स,बिजनेस अक्सिजन,वान टु वाच,डोल्मा एडभाइजर्स र टिम भेञ्चर्स सहभागी रहेका छन् ।
संस्थापक अध्यक्ष सुमन जोशी चयन भएका छन्। त्यस्तै सदस्यहरुमा सिद्धान्त पाण्डे, विद्या वारिधि सिग्देल, अनुपम मान छन्त्याल र तेन्जिन सोनम गोन्सर छन् ।
विगत केही समयदेखि नेपालमा बैकल्पिक लगानीको गतिविधि बढ्दै गएको र भविष्यमा यसको व्यापक विस्तार हुने सम्भावना भएकाले संस्था मार्फत् वातावरण बनाउन सहयोग गरिने अध्यक्ष जोशीले जानकारी दिए ।
नेतृत्व भन्दा संस्थागत रुपमा काम एशोसिएसन सञ्चालन हुने जोशीको भनाइ छ । यसले अध्ययन अनुसन्धान, वैकल्पिक लगानी क्षेत्रमा कार्यरत जनशक्तिको सिप, क्षमता तथा ज्ञान अभिबृद्धि लगायतका काम गर्ने छ ।