सेयर ब्रोकर कमिशन घट्यो, अधिकतम् ०.४० प्रतिशत | ६० प्रतिशतसम्म घट्यो कमिशन
काठमाडौं । सेयर किनबेच वापत लगानीकर्ताले तिर्नु पर्ने सेयर ब्रोकर कमिशन घटेको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार अधिकतम ०.४० प्रतिशत हुने गरी कमिशन घटाएको हो । यस अघि ब्रोकर कमिशत अधिकतम् ०.६० प्रतिशतसम्म रहेको थियो ।
पछिल्लो समय दिनमै ९ अर्बसम्म कारोबार हुन थालेको तथा अनलाइन कारोबारको संख्या बढेको भन्दै लगानीकर्ताले ब्रोकर कमिशन घटाउन माग गर्दै आएका थिए ।
हालसम्म लगानीकर्ताहरुले सेयर कमिसन वापत ०.६१५ प्रतिशत तिर्नुपर्ने व्यवस्था छ । सेयर बिक्री गर्दा नाफामा ५ प्रतिशत लाभकर तिर्नु पर्छ । ५० हजारसम्मको कारोबारमा ०.६० प्रतिशत र त्यसभन्दा माथि पाँच लाख रुपैयाँसम्म ०.५५ प्रतिशत ब्रोकर कमिसन तिर्नु पर्ने थियो ।
यसैगरी पाँच लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म ०.५० प्रतिशत, २० लाखदेखि एक करोड रुपैयाँसम्म ०.४५ प्रतिशत र एककरोड रुपैयाँदेखि माथि ०.४० प्रतिशत ब्रोकरलाई कमिसन र त्यसमाथि सेवा शुल्क भनेर नेपाल धितोपत्र बोर्डलाई ०.०१५ प्रतिशत रकम तिर्नुपर्ने व्यवस्था थियो । डिपी शुल्क भनेर प्रत्येक कारोबारमा २५ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
संसोधित व्यवस्थामा यस्तो छ
बोर्डले आइतबार देखि लागु हुनेगरी ६० प्रतिशतसम्म ब्रोकर कमिसन घटाएको छ । बोर्डले पछिल्लो समय धितोपत्रबजारमा अनलाईन कारोबारमा ८५ प्रतिशतले बढेको भन्दै ब्रोकर कमिशन घटाएको बोर्डले जारि गरेको बिज्ञप्तिमा उल्लेख छ ।
ब्रोकरले सानो रकमको कारोबार गर्ने साना लगानीकर्ताहरुलाई कारोबार सेवा वापत लिदै आएको न्युनतम शुल्कमा ६० प्रतिशत,सरकारी तथा संस्थागत ऋणपत्र, सामुहिक लगानी कोषको इकाई तथा अन्य धितोपत्रको खरिद तथा बिक्री कारोबारमा लिदै आएको शुल्कमा ५० प्रतिशत र संगठित संस्थाको शेयर खरिद तथा बिक्री कारोबारमा लिदै आएको शुल्कमा ३३ प्रतिशत कम हुने गरी घटाएको हो ।
लगानीकर्ताहरूले भने नियामकले लिने शुल्क समेत घटाउनु पर्ने माग गरेका थिए । सबै काम अनलाइनबाट लगानीकर्ता आँफैले गर्ने हुँदा नियामकले लिने शुल्क कटौती गर्नु पर्ने माग गरेका थिए । तर बोर्डले आफूलाई र बजार सञ्चालक बेफाइदा नहुने गरी लगानीकर्ताको मागको बेवास्ता गर्दै चलाखी पूर्वक ब्रोकर कमिसन घटाएको हो ।