पठाओले चालक र यात्रुको ५ लाख सम्मको बीमा गरिदिने |
काठमाडौं । राइड सेयर कम्पनी पठाओले आफ्ना चालक र यात्रुको ५ लाखसम्मको बीमा गरिदिने भएको छ ।
पठाओमा एप प्रयोग गरी यात्रा गर्दा दुर्घटना भई यात्रु वा चालकको मृत्यु वा अपाङ्गता भएमा बढीमा ५ लाख सम्मको बीमा गर्ने गरी एभरेस्ट इन्स्योरेन्स प्रालीसगँ सम्झौता गरिएकाे हाे ।
त्यस्तै पठाओको एप मार्फत सेवा दिने र लिनेको लागि १ लाखसम्मको दुर्घटना उपचार बीमा गरिएको पठाओका क्षेत्रिए निर्देशक अशिममान सिंह बस्न्यातले जानकारी दिए ।
यो बीमा पठाओ खाना डेलिभरी गर्ने राइडरहरुले पनि पाउने छन्। त्यसैगरी पठाओका प्यासेन्जरले बीमा दावीको लागि एपमा आफ्नो नाम र जन्म मिती सही राख्नुपर्ने उनले बताए ।
२ वर्षको लगातार प्रयासपछि बीमाको व्यवस्था गराउन सफल भएको बस्न्यात बताउँछन् ।
‘हामीले २ वर्षदेखि राइडर र प्यासेन्जरको बीमा गर्ने प्रयास गरेका थियौँ। तर बीमा संस्थानमै जाँदा पनि सकिएन। पछिल्लाे २ महिना एभरेस्ट इन्सोरेन्ससगँ छलफल गरेर उहाँहरुले प्याकेज नै बनाएर हामीलाई बीमाको बाटो खोलिदिनुभयो,’ उनले भने ।
लकडाउन अघि करिव ७० हजार राइडर पठाओमा आवद्ध भएपनि अहिले ७ हजारलाई मात्र अनुमति दिइएको उनले बताए । त्यस्तै झण्डै १३ हजार प्यासेन्जर पठाओमा दर्ता छन् ।
पठाओ मार्फत दैनिक करिव ३० हजारले सेवा लिने गरेको बस्न्यातको दावी छ ।