सेन्चुरी बैंकले पुस २९ मा बोलायो दुई वर्षको एजीएम |
काठमाडौं । सेन्चुरी बैंकको नवौं र दशौं वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ । सभा आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा भिडियो कन्फ्रेन्स मार्फत बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ७.५℅ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । बैंकले गत आर्थिक वर्षको नाफाबाट ५.२५℅ बोनस सेयर र कर प्रयोजन सहित गरी २.२५℅ नगद लाभांश वितरण गर्न लागेको छ । बैंकले गत आर्थिक वर्षको वितरण हुन बाँकी रहेको १६ करोड ८३ लाख रुपैयाँ बराबरको बोनस समेत गरी ८ अर्ब ५८ करोड रुपैयाँ चुक्ता पुँजीको ५.२५℅ बोनस सेयर र कर प्रयोजनको लागि समेत गरी २.२५℅ नगद लाभांश वितरण गर्न लागेको हो ।
बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि छ । यसैगरी, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । आर्थिक वर्ष २०७६–७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । नवौ साधारण सभाको लागि बैंकले २०७६ साल फागुन ३० गते नै बुक क्लोज गरीसकेको जनाएको छ । गत फागुन २९ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्न सक्नेछन् ।
यस्तै, १० औं साधारण सभाको लागि बैंकले पुस १६ गते बुकक्लोज गर्ने भएको छ । यसर्थ, पुस १५ गतेसम्म कायम सेयरधनीहरुले बैंकले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् ।