प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ शुक्रबार भित्र बाँडफाँड हुने |
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ शुक्रबारभित्र बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमा अनुसार प्रि अलोटमेन्टको काम सकेर शुक्रबार भित्रै आईपीओ बाँडफाँड गर्ने तयारी छ ।
कम्पनीको आईपीओमा १० लाख ८२ हजार आबेदनबाट २ करोड ९३ लाख कित्ता शेयरको लागि २ अर्ब ९३ करोड रुपैयाँ बराबरको आबेदन परेको छ । कम्पनीले सर्वसाधरणलाई निष्काशन गरेको ५४ लाख कित्ताको यो ५.४२ गुणा बढी हो ।
कम्पनीले मंसिर २९ गते देखि पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले निष्काशनमा ल्याएको थियो ।
माग भन्दा बढी आबेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले शेयर बाँडफाँड हुनेछ । त्यस अनुसार ५ लाख ४० हजार आवेदकले मात्रै न्युनतम १० कित्ता पाउनेछन् छन् भने बाँकी अर्थात ५०.१० प्रतिशत आबेदकको हात खाली हुनेछ ।
आवेदनहरू भेरिफिकेशनको क्रममा रहेकोले आबेदकको संख्या केही कम हुने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटले जनाएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।