मेरो माइक्रोफाइनान्सले बोलायो साधारण सभा |
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश अनुमोदन मुख्य प्रस्ताव सहित पुस २८ गते आठौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।
लघुवित्तको सञ्चालक समितिको पुस ६ गते सम्पन्न बैठकले पुस २८ गते मंगलबार होटल वाटर टावर, नुवाकोट, बट्टारमा बिहान ११ बजे साधारण सभा बोलाएको हो ।
आठौँ वार्षिक साधारण सभाले सञ्चालक समितिले गत आवको मुनाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजीको १६.९३ प्रतिशत बराबरको १४ करोड ४८ लाख ६० हजार रुपैयाँ बराबरको बोनस शेयर जारी र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.८९१६ प्रतिशत नगद लाभांश अनुमोदन गर्दैछ ।
यसैगरि, सभामा सर्वसाधारण लगानीकर्ताको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम समेत रहेको छ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि लघुवित्तले पुस १७ गतेदेखि २८ गतेसम्म शेयर दाखिला खारेजी गर्ने (बुकक्लोज) निर्णय गरेको छ । यसअनुसार पुस १६ गते बिहीबारसम्म कायम रहेका शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनुका साथै साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।