लक्ष्मी बैंकले बोलायो साधारण सभा, बुकक्लोज कहिले ? |
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न पुस २८ गते बीसौँ वार्षिक साधारण सभा डाकेको छ ।
सो सभा बैंकको प्रधान कार्यालय, हात्तीसार, काठमाडौँमा बिहान ११ː३० बजे शुरु हुनेछ ।
सो सभाले चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनस शेयर र बोनसमा लाग्ने कर सहित २.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीके तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन परिमार्जन गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ बैंकले १७ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको सो सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
कोभिड १९ महामारीलाई ध्यानमा राखी शेयरधनीहरुलाई भर्चुअल माध्यमबाट सहभागिता जनाउन बैंकले अनुरोध गरेको छ ।