ओम अस्पतालको सिइओमा यामबहादुर महत नियुक्त |
काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको प्रमुख कार्यकारी अधिकृतमा यामबहादुर महत नियुक्त भएका छन् ।
बुधबार एक कार्यक्रम बीच महतले पदबहाली गरेका हुन्। अस्पतालमा पहिलाेपटक उनी सिइओ नियुक्त भएका हुन् ।
महतकाे पदबहाली कार्यक्रममा अस्पतालका अध्यक्ष उद्धव पाैडेलले अस्पताल चल्नुमा मुख्य तीनवटा समूहकाे आड र भराेसा रहेकाे बताउँदै नवनियुक्त सिइओ महत तीनवटै समूहकाे संयुक्त रुप भएकाे उल्लेख गरे ।
उनले भने, ‘ओम अस्पतालका पहिलाे समूह कर्मचारीहरू, दाेस्राे समूह यस संस्थाका सेयर सदस्य र तेस्राे चिकित्सक नर्सहरू रहेका छन्, तीनवटै समूहकाे समिश्रण महत हुनुहुन्छ, सबैको संयुक्त प्रयासबाट नै याे संस्था अगाडि बढ्न सक्छ ।’
कार्यक्रममा नवनियुक्त सिइओ महतले केही समयमा नै अस्पताललाई निजी क्षेत्रबाट सञ्चालित प्रमुख स्वास्थ्य गन्तव्यकाे रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
सो अवसरमा अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्की, मेडिकल डाइरेक्टर विश्ननाथ काेइराला र कर्मचारी युनियनका अध्यक्ष केशव चाैलागाईंले मतव्य राखेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट विजनेज डेभलपमेन्टमा स्नातकोत्तर, सिक्किम मनिपाल विश्वविद्यालयबाट एमबिए र पाेखरा विश्वविद्यालयबाट स्नातकोत्तर गरेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत यामबहादुर महतले तिलगंगा आँखा अस्पताल, स्टान्डर्ड चार्टर्ड बैंक लगायतका संस्थाका नेतृत्वदायी पदमा सेवा गरिसकेका छन् ।