नौ महिनापछि शुरु भयो काठमाडौं–नयाँदिल्ली उडान |

काठमाडौं । कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान आजदेखि पुनː सुरू भएको छ । करिब नौ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान पुनːसञ्चालनमा आएको हो ।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ए ३२० जहाजले काठमाडौंबाट १४१ यात्रु लिएर केहीबेरअघि दिल्ली उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
बिहान ११ː२० बजे उडेको उडान नं २०५१ जहाज दिल्लीबाट त्यहाँको समयअनुसार दिउँसो १ː५५ बजे काठमाडौँ फर्किने उडान तालिका छ । एक सय ५७ यात्रु क्षमताको न्यारोबडी जहाजमा १३५ इकोनोमिक र छ बिजनेस क्लासका यात्रु सवार रहेको निगमले जनाएको छ ।
नौ महिनापछि पहिलो उडानको अकुपेन्सी उत्साहवर्द्धक रहेको र दिल्ली गन्तव्यमा आगामी दिनमा विगतमाझैं प्रत्येक दिन दुई उडानको अपेक्षा गरिएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताइन् ।
काठमाडौं–नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्नेछन् । दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ को अवधारणाअन्तर्गत काठमाडौं र दिल्लीबीच नियमित निर्धारित उडान पुनः सुरू गरिएको हो ।
कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल तथा भारत दुवै मुलुकले अन्तर्राष्ट्रिय नियमित अन्तरदेशीय उडानमा प्रतिबन्ध लगाएकामा हाल दुवै मुलुकले अन्तर्राष्ट्रिय उडानमा गरिएको प्रतिबन्ध ‘एयर ट्रान्सपोर्ट बबल’ मार्फत् खुकुलो बनाएकाले निगमले काठमाडौं–दिल्ली रुटमा हाललाई दैनिक नियमित एक उडान गर्न लागिएको जनाएको छ ।
नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र भारतको एयर इण्डियाले दैनिक उडान गर्नेछन् ।
नेपाल एयरलाइन्सले बन्दाबन्दीका कारण विसं २०७६ चैत १० (२३ मार्च २०२०) गतेदेखि काठमाडौं–दिल्ली उडान स्थगन भएको थियो ।
गत भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान सुरू भएको थियो । यी उडानमा नेपालतर्फ यात्रुले ७२ घण्टे पिसिआर रिपोर्ट पेश गर्नुपर्नेछ भने भारतबाट आउँदा त्यहाँ अनलाइन फाराम भर्नुपर्ने प्रावधान छ ।
कोभिड महामारीका कारण उडान स्थगन हुँदा यात्रुको आवागमन चापमा परेको प्रभावको अध्ययन गरी उडान संख्यामा समायोजन गर्न सकिने र सोको सूचना दिइने तथा नेपाल सरकार र भारत सरकारले निर्धारण गरेको स्वास्थ्यसम्बन्धी शर्तहरूको पूर्ण पालना गर्दै यात्रुलाई अधिकतम सुविधासहित संक्रमणरहित गुणस्तरीय हवाई सेवा प्रदान गर्न प्रतिबद्ध रहेको निगमले जनाएको छ ।
निगमको अन्तर्राष्ट्रिय उडान गन्तव्यको व्यापारिक हिसाबले भारतका गन्तव्य निकै राम्रो मानिन्छ ।
लामो समय उडान नहुँदा निगमलाई आर्थिकरूपमा निकै घाटा भएको छ । सामान्य अवस्थामा काठमाडौं–दिल्ली दैनिक दुई उडान हुन्थ्यो।
कोभिड महामारीकै बीच अहिले दैनिक एक उडान हुन लागेको हो ।
यो गन्तव्यको उडानमा यात्रुको मागबमोजिम निगम नेपाल एयरलाइन्सका वाइडबडी ए–३३० र वाइडबडी ए–३२० जहाजले आलोपालो गरेर उडान भर्नेछन् ।
निगमले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । कम्पनीसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइडबडी र दुई थान न्यारोबडी जहाज छन् । रासस