इन्फास्ट्रक्चर बैंकको सीईओ ज्ञवालीले दिए राजीनामा |
काठमाडौं । इन्फास्ट्रक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले राजीनामा दिएका छन् । २ वर्षअघि बैंकको कार्यकारी प्रमुखमा नियुक्त भएका ज्ञवालीले सञ्चालक समितिसमक्ष राजीनामा दिएका हुन् । उनको राजीनामालाई सञ्चालक समितिको मंगलबारको बैठकले स्वीकृत समेत गरेको छ ।
ज्ञवाली बाहिरिएसँगै सञ्चालक समितिले डेपुटी प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । इन्फास्ट्रक्चर बैंकमा आउनुअघि ज्ञवाली नबिल बैंकमा र त्यसअघि उनी ग्लोबल आईएमई बैंकको समेत सीईओ थिए ।
उनलाई बैंकिङ क्षेत्रको सफल र चर्चित बैंकर मानिन्छ । नेपालको पहिलो पूर्वाधार बैंकको रुपमा लाइसेन्स पाएको सो कम्पनीले उनै अनुभवी बैंकर ज्ञवालीलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा ल्याएको थियो ।
स्रोतका अनुसार सरकार र बोर्डसँगको असहमतिपछि ज्ञवाली बैंकबाट बाहिरिने निष्कर्षमा पुगेका हुन् । ग्लोबल आईएमईमा रहँदा पनि उनी बोर्डसँगको असहमतिकै कारण समय नपुग्दै बाहिरिएका थिए ।