हुवावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले पुस ११ गते हुने |
काठमाडौं । सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले कार्यक्रम आगामी पुस ११ गते आयोजना हुने भएको छ ।
काठमाडौँको सोल्टी क्राउन प्लाजामा आयोजना हुने फिनालेमा सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर अवार्डका प्रतिस्पर्धी र सीमित अतिथिको बीचमा कार्यक्रम सम्पन्न हुने आयोजकले बताएको छ । कार्यक्रमको प्रत्यक्ष प्रसारण भने विभिन्न टेलिभिजन, अनलाइन र सोसियल प्लाटफर्ममार्फत हुनेछ ।
हुवावेले मुख्य प्रायोजन गरेको कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा अधिकांश संस्था तथा कर्पोरेट संस्थाहरूको सहकार्य रहेको छ । नेपाल टेलिकम र जिनस सोलुसनको इन एशोसिएशन रहेको कार्यक्रममा फोन पे पावर्ड वाई र नेपाल दूरसञ्चार प्राधिकरण विशेष सहयोगी संस्थाको रूपमा रहेका छन् ।
अवार्डको फाइनल कार्यक्रममा विभिन्न ११ विधामा सर्वोत्कृष्ट घोषणा गर्दै अवार्डसँगै पुरस्कारहरू प्रदान गरिनेछ । यस वर्षको आइसिटी अवार्ड २०२० मा स्वदेश तथा विदेशबाट ३५० भन्दा बढीको अनलाइन आवेदन प्राप्त भएको आयोजक लिभिङ विथ आइसिटीका अध्यक्ष राजन लम्सालले जानकारी दिए । कारोनाको विषम परिस्थितिमा पनि यो वर्ष अहिलेसम्मकै उत्साहजनक सहभागिता रहेको उनले बताए ।
हुवावे आइसिटी अवार्ड २०२० मा १४ जना जुरी सदस्य रहेका छन् भने १४ जनाको विशिष्ट सल्लाहकार समिति रहेको छ । गत भदौ महिनादेखि शुरु भएको अवार्डको छनौट प्रक्रिया यस वर्ष भर्चुअल रूपमा सञ्चालन गरिएको छ ।
हुवावे आइसिटी अवार्ड २०२० मा रहेका विधाहरूमा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र एनसेल इन्नोभेसन आइसिटी अवार्डका विधाहरूमा विभिन्न चरणको छनौट पश्चात् उत्कृष्ट ५ को घोषणा भएको छ ।
डिजिटल एजुकेशन र डिजिटल गभर्नेन्स आइसिटी अवार्डमा उत्कृष्ट ३ को घोषणा भएको छ । यसैगरी पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र मिडिया पर्सन आइसिटी अवार्ड २०२० को विजेता फाइनल कार्यक्रममै घोषणा हुने आयोजकले बताएको छ ।
आइसिटी अवार्ड २०२० का विजेताहरूले नेपालको सबैभन्दा ठूलो र प्रतिष्ठित आइसिटी अवार्डको सम्मान प्राप्त गर्नेछन् । यस वर्ष स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइीसटी अवार्ड र इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२० का विजेताले नेपाल सरकारको स्टार्टअप फण्ड अन्तर्गत ५० लाखसम्म सहुलियतपूर्ण ऋण सुविधामा समावेश हुने अवसर पाउनेछन् ।
यसैगरी बैंकिङ पार्टनर राष्ट्रिय वाणिज्य बैंकले १० लाखसम्म विनाधितो सहुलियतपूर्ण ऋण सुविधा प्रदान गर्नेछन् । इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्डका विजेताले एनसेल मार्फत विशेष आर्थिक रकम पुरस्कारको रूपमा प्राप्त गर्नेछन् ।
इन एशोसिएशनमा रहेको नेपाल टेलिकमले सबै विजेतालाई एक वर्षका लागि फाइबर टु होम सेवा प्रदान गर्नेछ । जिनियस सोलुसनले विजेता र उत्कृष्ट ५ मा परेका स्टार्टअपलाई अमेजन क्लाउड सर्भिसको सुविधा दिनेछ ।
४ विधाका सर्वोत्कृष्टलाई ई-सेवाले २५ हजार बराबरको आफ्नो बिजनेश इन्टिग्रेसन र प्रवद्र्धनमा निःशुल्क सहयोग गर्नेछ । साइबर सेक्युरिटी पार्टनर इमिनेन्स वेइजले साइबर सुरक्षाको लागि आवश्यक सहयोग प्याकेज दिने आयोजकले जानकारी दिएको छ ।
हुवावे आइसिटी अवार्ड २०२० मा एनसेल, राष्ट्रिय वाणिज्य बैंक, ई-सेवा, नाष्ट, राष्ट्रिय सूचना प्रविधि केन्द्र, प्रेसिडेन्सियल बिजनेश स्कुल, निमा एकेडेमी, इमिनेन्स वेइज, डिस होम, टिडिओ नेपाल लगायतका संस्थाहरूले सहकार्य गरेका छन् ।