प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुल्यो |
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । कम्पनीले आज सोमबार मंसिर २९ गतेदेखि कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको हो ।
कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आइपीओमा छिटोमा पुस २ गतेसम्म र त्यस अवधीमा पर्याप्त आवेदन नपेरमा पुस १३ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५००० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयरको वेब तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीलाई क्रेडिट रेटिङ्ग नेपालले केयरएनपी–आइआर बीबी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको जनाउछ ।
हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।