कामदार कोरिया लैजाने प्रक्रिया फेरि शुरु हुँदै |

सिउल । कोरोना माहामारीका कारण कोरिया जान लागेकाहरुको रोकिएको काम पुनः सुरु हुने भएको छ । त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको २ वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः ६ महिना थप्ने निर्णय पनि भएको छ । यसअघि कोभिड–१९ का कारण प्रवासीलाई कोरिया प्रवेशमा कडाइ र नेपालको लक डाउनसँगै रोजगार अनुमति प्रणाली इपिएस माध्यमबाट कोरिया आउनेको सम्पूर्ण प्रक्रियासमेत स्थगन भएको थियो ।
बुधबार प्रवासी श्रमिक युनियन (एमटीयु) र केसीटियुले कोरियाको रोजगार तथा श्रम मन्त्रालय प्रवासी श्रमिक विभागका निर्देशक लगायतसँग प्रवासी श्रमिकका बारेमा छलफल गरेको थियो । सोही छलफलमा कोरोना महामारीका कारणले स्थगित कार्य पुनः सुरु गराउने बारेमा छलफल भएको थियो । छलफल पश्चात् ६ महिना रोस्टर अवधि बढाउने र रोकिएका प्रक्रिया पुनः सञ्चालन गरी प्रवासी मजदुर ल्याउन पहल थालिने निर्णय भएको एमटीयु अध्यक्ष उदय राईले बताए ।
छलफलमा एमटीयुले कोरिया आउन रोकिएका प्रवासी श्रमिकलाई चाँडो ल्याउने व्यवस्था गर्नुपर्ने, कोरोनाको कारण आउन नपाएर रोस्टरमा हुनेको २ वर्ष अवधि सकिन लागेको श्रमिकको समयावधि थप्नुपर्ने माग गरिएको छ । यस्तै, श्रमिक बिदामा गएको समयमा कम्पनी मालिकले सम्झौता रद्द गर्न नमिल्ने, श्रमिकलाई गरिने शोषण रोक्नुपर्नेलगायतमा पनि जोड दिएको थियो ।
छलफलमा उपस्थित मन्त्रालयका अधिकारीले कोरोना महामारीका कारण गत मार्च महिनादेखि नयाँ प्रवासी श्रमिक ल्याउन बन्द गरिएकोमा गत महिनादेखि कम्बोडियाबाट ल्याउन सुरु गरिएको बताए । अब छिट्टै नेपाल लगायत अरु देशबाट पनि ल्याउने व्यवस्था मिलाइने उनले बताए ।
अवधि सकिन लागेका श्रमिकको ६ महिना समयावधि थप गरिने उनले बताए । सन् २०२० को ५६ हजार कोटामध्ये ३३ हजार १०० (५९.१५ प्रतिशत) अनुमतिपत्र जारी गरिएको थियो भने अक्टोबरसम्ममा ६ हजार ७४ जना मात्र नयाँ प्रवासी मजदुर कोरिया प्रवेश गरेका छन् ।