इन्द्रेणीमा रमेश र कल्पना बिच दोस्रोपटक चल्यो दोहोरी |
काठमाडौं । पब्लिक स्पिकरका रुपमा परिचित झापाली युवा रमेश प्रसाईं र लोकगायिका कल्पना दाहाल अहिले ब्यापक चर्चामा छन् । उनीहरुले इन्द्रणीमा गाएको दोहोरीले तहल्का मात्रै पिटेन, बजारमा उनीहरुको निकटतालाई लिएर नानाथरि अनुमानहरु लगाईए ।
तर, सबै अनुमानलाई चिर्दै रमेश प्रसाईंले अर्कै युवतीसँग बिहे गर्न लागेका छन् । समाजसेवामा संलग्न आफूजस्तै दृष्टिविहीन युवती नन्दा सिंहसँग उनले बिहे गर्न लागेको खबर हिजो मात्रै सार्वजनिक भएको थियो । र, हिजै रमेश र कल्पनाबीच इन्द्रेणीमा भएको दोस्रो दोहोरी भिडन्त पनि सार्वजनिक भएको छ । लोकदोहोरीप्रेमी र रमेश–कल्पनाका फ्यानहरुका लागि यो एउटा मज्जाको खुराक हो ।
दोस्रो भिडन्त पनि पहिलोकै निरन्तरताका रुपमा छ । उनीहरु दुवैले उही शैलीमा एक अर्काको प्रशंसामा शब्द खर्चेका छन् र मायापिरतीको कुरा गरेका छन् । दोहोरीको मर्म उस्तै भएर होला, पहिलोले जति दर्शकलाई लठ्याएको थियो, दोस्रोले त्यति नसक्ला । यद्यपि, भिडियोको भ्यूज आक्रामक छ । अपलोड भएको केही घन्टामै ट्रेन्डिङमा अगाडि आइसकेको यो भिडियोलाई अहिलेसम्म झण्डै ७ लाखले हेरेका छन् भने ८ हजारभन्दा बढी कमेन्ट आएका छन् ।
रमेशको बिहे तय भएपछि दोहोरीमा उनीहरु के कसरी प्रस्तुत होलान् भन्ने कौतुहल थियो । तर, वास्तविक जीवनमा आएको नयाँ मोडलाई रमेशले दोहोरीमा प्रवेश गराएनन् । कार्यक्रमको अन्त्यसम्म पनि रमेशको विवाहलाई लिएर कुनै चर्चा भएन ।
धेरै दर्शकले रमेश र कल्पनालाई वास्तविक जीवनको जोडीका रुपमा हेर्न चाहेका थिए । यद्यपि, रमेश ३ वर्षदेखि नन्दासँग प्रेममा डुबुल्की मारिरहेका रहेछन् ।