सेयर बजारको उत्साह कायमै, नेप्से सूचक २०००.४० विन्दुमा अडियो |
काठमाडौं । सेयर कारोबार रकमले मंगलबार पनि लगानीकर्तालाई उत्साहित बनाएको छ । नेप्से सूचक २०००.४० विन्दुमा बसेको छ । लगानीकर्ताका लागि मनोवैज्ञानिक रेखा मानिने २००० विन्दुमै नेप्से अडिएपछि लगानीकर्ता थप उत्साहित बनेका छन् । बजारले अब अर्को उचाई लिने विश्लेषणहरु भइरहेका छन् । किन भने नेप्सेले यसअघिको अल टाइम हाइ १८८१ लाई सजिलै पार गरेर नयाँ ऐतिहासिक विन्दुतिर अघि बढिरहेको छ ।
यतिबेला आम लगानीकर्तामा निकै उच्च मनोबल देखिएको छ । हाम्रो बजार जहिले पनि चक्रीय प्रणालीमा हिँड्ने गरेको छ । यसबीचमा नेप्सेले ४ वर्ष लामो वियरिस यात्रा पार गरिसकेको छ । सोही कारण पनि अब बुलिस प्रवृत्तिमा बजार अघि बढेको विश्लेषणहरु हुन थालेको छ । बजार बुलिस क्रममा रहँदा लगातार भाउहरु वृद्धि भइरहनुलाई स्वभाविक मानिन्छ । यतिबेला बजार इन्ट्रा डे करेक्सनमै सीमित भएको छ ।
मंगलबार वाणिज्य बैंकहरुको सेयर भाउमा केही करेक्सन देखिएको छ । तर बिमा, उत्पादनमूलक तथा अन्य समूहमा तेजी आएको छ । नेप्से केही तलमाथि हुँदै अघि बढिरहेको देख्न सकिन्छ । वित्तीय प्रणालीमा अधिक तरलता अनि सस्तो ब्याजदरले सेयर बजार वृद्धिमा निकै राम्रो भूमिका खेलिरहेको देखिन्छ । बैंकहरुले पनि सहज तरिकाले सेयर कर्जा प्रवाह गरिरहेका छन् ।
यसैगरी, अनलाइन प्रविधि प्रयोगका कारण लगानीकर्तालाई सेयर खरिदबिक्रीमा निकै सजिलो भएको छ । घरमै बसेर आफैंले सेयर किनबेच गर्न सक्ने भएका छन् । यसबाट कारोबार रकममा अझै उछाल आउन सहयोग पुगेको हो । ब्रोकरलाई दिइएको नेटिङको सुविधाले पनि कारोबारमा उमंग ल्याउन सहयोग पुगेको हो । खरिद र बिक्री दुवैको हिसाब मिलाएर कारोबारको सेटलमेन्ट गर्ने सुविधा ब्रोकरहरुलाई छ । यसैगरी, बैंकहरुले सहजरुपमा सेयर कर्जा दिइरहेका छन् ।
अगुवा लगानीकर्ताहरु बजार बढ्दा वा घट्दासमेत नेप्से सूचकलाई मात्र आधार नमान्न सुझाव दिने गर्छन् । समग्रमा नेप्से सूचकको प्रवृत्ति महत्वपूर्ण भए पनि विशेष गरेर आफूले लगानी गरकै कम्पनीमा बढी ध्यान दिनुपर्छ । लगानी गर्ने कम्पनीको समग्र अवस्था जस्तो, नाफा, रिजर्भ, प्रतिसेयर आम्दानी, कम्पनी सञ्चालक, व्यवस्थापक अनि भविष्यमा कम्पनीको योजना लगायतलाई ख्याल गर्न आवश्यक हुन्छ । साथै, लगानीकर्ताले होल्ड गर्न सक्ने अवधिमा पनि विचार पुर्याउनुपर्छ ।