उद्योग वाणिज्य महासंघको निर्वाचन आज, ६४ पदका लागि १२१ जना चुनावी मैदानमा |
काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभाअन्तर्गत नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदै छ ।
वरिष्ठ उपाध्यक्ष नै स्वतː अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्नेछन् । गोल्छापछि नेतृत्वमा पुग्न वरिष्ठ उपाध्यक्ष पदका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतː अध्यक्ष बन्ने भएकाले महासंघको निर्वाचनमा यो पद अहिले सर्वाधिक महत्वपूर्ण हो ।
महासंघको २ केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी पदहरुमा चुनाव हुन लागेको हो ।
मतदान बिहान आठ बजेदेखि सुरु गर्ने तयारी छ । महासंघको मतदानका लागि तीन स्थान तय गरिएको छ । महासंघको केन्द्रीय कार्यालय टेकु, कार्की व्याङ्केट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचन हुने महासंघको सचिवालयले जनाएको छ ।
प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्योग वाणिज्य समूह, कार्की व्याङ्केट बबरमहलमा एशोसिएट सदस्य समूह र नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय टेकुमा बस्तुगत संघ समूहको मतदानको व्यवस्था मिलाइएको छ । कोराना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा व्यवस्था गरिएको छ ।
महासंघको ५४ औं साधारणसभा ११ मंसिरदेखि सुरु भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट साधारणसभा उदघाटन गरेका थिए । बन्दशत्र पनि भर्चुअल विधिबाटै गरिएको थियो ।
गत चैतमा हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण पटक–पटक स्थगित भएको थियो ।
६२ पदका लागि १२१ जना चुनावी मैदानमा
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षसहित तीन उपाध्यक्ष र ६० अन्य कार्यकारिणी सदस्यहरु गरि कुल ६४ पदका लागि निर्वाचन हुँदैछ ।
प्रारम्भिक चरणमा कुल ६४ पदका लागि १२७ जनाले आंकक्षा देखाए पनि अन्तिम समयमा ४ जनाले आफ्नो उमेदवारी फिर्ता गर्दा र २ जना निर्विरोध हुँदा अहिले बाँकी ६२ पदका लागि १२१ जना चुनावी मैदानमा छन् ।
जसमध्येबाट १ वरिष्ठ उपाध्यक्ष, ३ विषयगत उपाध्यक्ष, ७ प्रदेश प्रतिनिधि सदस्य, १८ जिल्ला÷नगर सदस्य, १४ वस्तुगत संघ सदस्य, १९ एशोसिएट सदस्य, २ द्विराष्ट्र सदस्य र १ संस्थापक सदस्य निर्वाचित हुने छन् ।
अध्यक्षमा भने हालका वरिष्ठ उपाध्यक्ष नै संवत् अध्यक्ष बन्ने महासंघको विधानमै व्यवस्था गरिएको छ ।
१ हजार १ सय १६ जनाले मतदान गर्ने
महासंघको निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावली अनुसार निर्वाचनमा १ हजार १ सय १६ जना मतदाताहरुले मतदानमा भाग लिदै छन् ।
भोटिङ लिस्ट अनुसार जिल्ला÷नगर तर्फबाट १०५, वस्तुगत तर्फबाट १०१ , एशोसिएट तर्फबाट ९०४, द्धिराष्ट्रियबाट ६ र संस्थागत तर्फबाट १२ गरी कुल १,११६ मतदाताले ६४ पदका लागि मतदान गर्नेछन् ।
तर मतदान भने जुन समूहको निर्वाचन हो सोही समूहका सदस्यले मात्रै समूहगत रुपमा उठेका उमेदवारलाई मतदान गर्न पाउनेछन् । यद्यपि वरिष्ठ उपाध्यक्षलाई भने सबै मतदाताहरु मत दिन पाउने व्यवस्था गरिएको छ।
हाल चुनावी प्रतिस्पर्धामा वरिष्ठ उपाध्यक्षका लागि व्यवसायी चन्द्रप्रसाद ढकाल र किशोर प्रधान रहेका छन् भने, जिल्ला÷नगर तर्फ उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारी, वस्तुगत संघ तर्फ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ र एशोसियट तर्फ उपाध्यक्षमा सौरभ ज्योति र रामचन्द्र संघाई मैदानमा छन् ।
महासंघको विधानअनुसार गत चैतमै हुनुपर्ने वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति चयनको निर्वाचन कोभिड–१९ का कारण प्रभावित हुँदै आएको थियो ।
पटकपटकको बिफल प्रयासका बाबजुद अन्तिम पटकको तयारी सरकारबाट स्वीकृति पाएसँगै महासंघले आफ्नो ५४ औं साधारणसभा र नयाँ कार्यसमिति छनोटको निर्वाचन गर्न लागेको हो ।