एकैदिन ६ अर्बको कारोबार, २३ खर्ब ८२ अर्बको बन्यो दोस्रो बजार |
काठमाडौं । नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड राखेको हो ।
यस दिन १९८ वटा कम्पनीको १ करोड ४० लाख कित्ता शेयर ६ अर्ब ११ करोड ६७ लाख रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन ४ अर्ब ७९ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा बिहीबार कारोबार रकम अझै बढेको हो।
कोरोनाको कारण अन्य क्षेत्रमा लगानीको अवसर कम हुँदा शेयर बजारमा लगानी बढेको छ । पछिल्लो समय कारोबार रकम दैनिक बढ्दै गइरहेको छ । यसले अरु क्षेत्रमा लगानीको सम्भावना कम हुँदा शेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।
शेयर बजारमा अहिले लगानीकर्ताहरुको आकर्षण व्यापार कम्पनी तथा उत्पादनमुलक कम्पनीहरुमा बढी देखिन्छ। बैंकिंग क्षेत्रमा भने अझै लगानीकर्ताको आकर्षण कमै देखिन्छ ।
यस दिन कारोबारमा आएका १२ वटै उपसमुहको सूचक सकारात्मक देखिएको छ जसमा व्यापार र होटल उपसमूहको सूचक ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यस दिन नेप्सेसूचक पनि २.०८ प्रतिशत अर्थात ३६.३२ अंकले बढेर १७७८.१२ विन्दुमा पुगेको छ ।
एकैदिन ४८ अर्बले बढ्यो बजार पूँजीकरण
नेप्से सूचक बढेसँग बजार पूँजीकरण पनि बढेर उच्च विन्दुमा पुगेको छ।बिहीबार एकैदिन बजार पूँजीकरण ४८ अर्ब ६६ करोड रुपैयाँले बढेको छ ।
बिहीबारसम्ममा बजार पूँजीकरण २३ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ। यो बजार पुँजीकरणको हालसमकै उच्च विन्दु हो । बुधबारसममा कुल बजार पूँजीकरण २३ खर्ब ३४ अर्ब रुपैयाँ थियो ।
पछिल्लो समय शेयर बजार दैनिक रुपमा बढ्दै गएको छ यसले गर्दा बजार पूँजीकरण पनि बढ्दै गएको हो ।