जो बाइडनले जिते अमेरिकी राष्ट्रपतिको चुनाव, यस्तो छ बाइडेनको सघर्षपूर्ण जीवन |
काठमाडौं । जो बाइडन अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने भएका छन् । डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडनले रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराएका हुन् ।
बीबीसीको अनुमान अनुसार महत्वपूर्ण मानिएको पेन्सिल्भेनिया राज्यमा वाइडनले जित हात पारेका छन् । जसले बाइडनलाई ह्वाइट हाउसमा पुग्न चाहिने २७० इलेक्टोरल कलेज भोटको आंकडा पार भएको छ ।
बीबीसी, न्यूयोर्क टाइम्स, फक्स न्यूज लगायतले गरेको यो अनुमान ती राज्यहरुको परिणाममा आधारित छ, जहाँ भोट गणना सकिसकेको छ र केहीमा अन्तिम चरणमा छ ।
अमेरिकामा राष्ट्रपतीय निर्वाचनबाट ५३८ इलेक्टोरल कलेज प्रतिनिधिहरु छानिन्छन् । अमेरिकामा राष्ट्रपति बन्न २७० इलेक्टोरल भोट आवश्यक पर्छ ।
निर्वाचनको सुरुआती नतिजामा भने बाइडन केही महत्वपूर्ण निर्णायक राज्यमा पछाडि देखिएका थिए । पेन्सिल्भेनिया, विस्कोन्सिन, मिशिगन र जर्जियाको नतिजा उल्ट्याउँदै राष्ट्रपतिमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । यद्यपि रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले केही राज्यमा पुनː मतगणनाको माग गर्न माग गर्दै अदालती प्रक्रिया सुरु गरेका छन् । यसले अमेरिकी राष्ट्रपतिको विवाद भने अझै केही समय चल्न सक्ने देखिएको छ ।
को हुन् त जो बाइडन ?
बाइडनको वाशिङ्टनसँगको नाता ४७ वर्षअघि सन् १९७३ मा जोडिएको थियो जब उनी अमेरिकी सिनेटका सदस्य बनेका थिए । अनि उनको पहिलो राष्ट्रपतीय प्रचार अभियान ३३ वर्षअघि सन् १९८७ मा भएको थियो ।
उनी मतदातालाई आकर्षित गर्न सक्ने स्वाभाविक नेता हुनुका साथै कुनै पनि बेला गलत वाक्य बोल्न सक्ने नराम्रो गुण भएका मानिस पनि हुन् । भिडका सामुन्ने बोल्दाबोल्दै चिप्लिँदा उनको पहिलो प्रचार अभियान सुरु हुनुभन्दा पहिल्यै खेर गएको थियो ।
कान्छा सिनेटरदेखि जेष्ठ राष्ट्रपतिसम्मको यात्रा
सन् १९७२ मा डेलवेरबाट सिनेटर निर्वाचित हुँदा जो बाइडेन केवल २९ वर्षका थिए । तत्कालीन अमेरिकी सिनेटका कान्छा सदस्यलाई ह्वाइट हाउसको ढोका खोल्न थप ४८ वर्ष लाग्यो । जतिबेला २० जनवरीमा राष्ट्रपतिको सपथ हुनेछ, त्यतिबेला बाइडेन ७८ वर्ष पुगिसकेका हुनेछन् । अमेरिकी इतिहासमा बाइडेनजत्तिको पाको उमेरमा कोही पनि राष्ट्रपति निर्वाचित भएको छैन ।
कोरोना नियन्त्रणका लागि राष्ट्रव्यापी परीक्षण र ट्रेसिङ कार्यक्रम, रोजगारीमा न्युनतम आय बढाउने, साना उद्योगहरुलाई दिइने ऋण बिस्तार गर्ने, न्याय प्रणालीमा सुधार ल्याउने, अल्पसंख्यक समुदायका लागि व्यवसायमा सहयोग गर्ने, हरित उर्जामा लगानी बढाउने, पेरिस जलवायु सम्झौतामा पुनरागमन गर्ने, नाटो गठबन्धनलगायत मित्रशक्तिसँग बिग्रिएको सम्बन्ध सुधार्ने, ओबामा केयरलाई बिस्तार गर्ने, आप्रवासीहरुप्रति उदारता देखाउने लगायतका विषयलाई चुनावी मुद्दा बनाएका बाइडेनलाई अमेरिकी जनताहरुले इतिहासमै सबैभन्दा धेरै मत खसालेका छन् ।
कुनै समय रंगभेद उन्मुलनविरुद्ध अदालतले दिएको आदेशविरुद्ध लडेका बाइडेन आज अफ्रो–अमेरिकी र रंगभेद विरोधीहरुकै नेता बनेका छन्, विभाजित अमेरिकालाई एकढिक्का गर्ने उनको वाचा छ । कुनै समय उनी अस्थिर मानिन्थें, अहिले परिपक्व र धैर्यवान् मानिन्छन् ।
ती असफल प्रयास
राष्ट्रपति बन्नका लागि उनले यसअघि नै दुुईपटक असफल प्रयास गरेका थिए – १९८८ को राष्ट्रपतिय निर्वाचनका लागि दाबी पेश गर्दा धेरैले उनलाई अन्य डेमोक्रेटको दाँजोमा फरक उम्मेदवार ठानेका थिए, उनको युवा जोश र भाषण कलाले धेरेलाई लोभ्याएको पनि थियो । तर, निर्वाचन अभियानताका बेलायती लेबर पार्टीका नेता निल किन्नकको भाषण बङ्ग्याएर आफ्नो जसरी पेश गरेको आरोप लागेपछि गल्ती स्वीकार्दै उनले उम्मेदवारी फिर्ता लिए । उनीविरुद्ध तीनवटा डिग्री लिएको भन्दै गलत प्रचार गरेको, कलेजको थेसिस चोरेकोलगायत आरोप पनि लागेका थिए । बाइडेनलाई दोस्रो पटक राष्ट्रपतिको दाबी पेश गर्न थप दुुई दशक लाग्यो । २००८ मा डेमोक्रेटिक पार्टीको आन्तरिक प्रतिस्पर्धामा उम्मेदवार रहेका बाइडेनले अन्तत ३ जनवरी २००८ मा उम्मेदवारी फिर्ता लिएर ओबामालाई समर्थन गरे ।
यसपछि ओबामा राष्ट्रपति र बाइडेन उपराष्ट्रपतिको उम्मेदवार बने । यस चुनावमा गोराहरुलाई ओबामातर्फ आकर्षित गराउन बाइडेनकोे भूमिका ठूलो थियो । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको बुुझाईमा ‘अमेरिकाले पाएका उपराष्ट्रपतिमध्ये बाइडेन अहिलेसम्मकै उत्कृष्ट हुन् ।’ यस्तो टिप्पणी अस्वभाविक पनि होइन, किनकि ह्वाइट हाउसमा युवा ओवामालाई अनुुभवी बाइडेनले नै उपराष्ट्रपतिका रुपमा दरिलो साथ दिएका थिए ।
पटक–पटक सिनेटर भइसकेका बाइडेनसँग सिनेटको न्यायिक समिति र विदेश विभाग कमिटीको अध्यक्षता गरेको अनुुभव थियो भने ओबामासँग युवा जोश । एफोर्डेवल केयर एक्ट, आर्थिक मन्दीको समय ल्याइएको इन्सेन्टिभ प्याकेज र सुधार योजना, पेरिस जलवायु सम्झौता, ईरानसँगको आणविक सम्झौता लगायतमा बाइडेनको भूमिका पक्कै कम थिएन । ओबामासँगको घनिष्ट सम्बन्धका कारण पनि अफ्रो–अमेरिकी मतदातामाझ बाइडेन लोकप्रिय बने । उनी ओबामालाई आफ्ना ‘भाई’ भन्थें ।
ओबामा कार्यकालमै सिरिया द्वन्द्वमा अमेरिका फस्यो, दशौं लाख बिस्थापित भएको र लाखौंले ज्यान गुमाएको यस द्वन्द्वको घाउ अझै आलै छ । लिबियालगायत अन्य भूू–भागमा पनि अमेरिकी सैनिकले हस्तक्षेप गरे । त्यसैले, ओबामा कार्यकालको उपलब्धिका जस लिने बाइडेनलाई यस समय भएका गल्तीको अपजस पनि जान्छ ।
व्यक्तिगत उतार–चढाव
बाइडेनको जीवन व्यक्तिगत पीडाले भरिएको छ । १९७२ मा पहिलोपटक सिनेटमा निर्वाचित भएको छोटो समयमै उनकी श्रीमती निलिया र शिशु छोरीको कार दुर्घटनामा निधन भयो । साना छोराहरु बो र हन्टर भने यस दुर्घटनामा बाँच्न सफल भए । उनीहरुको उपचार भइरहेका बेला अस्पतालकै कोठाबाट बाइडेनले पहिलोपटक सिनेट सदस्यको सपथ लिएका थिए ।
२०१५ मा ब्रेन क्यान्सरका कारण ४६ वर्षको उमेरमा बोको निधन भयो । डेलोर राज्यको गर्भनरका लागि २०१६ मा चुनाव लड्ने मनसाय बनाइरहेका बोलाई अमेरिकी राजनीतिमा उदाउँदो ताराका रुपमा हेरिएको थियो । छोराको निधनपछि बाइडेनप्रति धेरै मानिसहरुले सद्भाव राखे, जसकारण उनी शोकलाई शक्तिमा बदल्न सफल भए । यद्यपि, कठिनाई थिएन भन्ने होइन ।
२०२० को चुनावी दौडमा सहभागी भएलगत्तै महिला भोटर्सहरुसँग यौन दुुर्व्यवहार गरेको आरोपमा उनी मुछिए । अन्तक्रियाका दौरान महिलाहरुलाई अप्ठ्यारो हुनेगरी शरीरमा छोएको आरोप उनीमाथि लागेको थियो, यस आरोपलाई पुष्टि गर्ने विभिन्न भिडियो फुटेज पनि थिए । यद्यपि, सामाजिक मान्यताहरु परिवर्तन हुनका बाबजुद आफु भावनारहित व्यक्ति नभएको प्रतिक्रिया यी उदार राजनीतिज्ञले दिए ।