भारतीय स्थल सेनाध्यक्ष नरवणे स्वदेश फर्किए |
काठमाडौं । प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे शुक्रबार स्वदेश फर्किएका छन् ।
तीनदिने औपचारिक भ्रमण सम्पन्न सकेर साँझ स्वदेश फिर्ता भएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रभुराम शर्माले बिदाई गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
भ्रमणको तेस्रो दिन शुक्रबार बिहान उनले नेपाली सैनिक कमान्ड तथा स्टाफ कलेज, शिवपुरीमा गई, त्यहाँ तालिमरत शिक्षार्थिहरुलाई सम्बोधन गर्दै आफ्नो लामो सैनिक सेवाबाट प्राप्त उपयोगी अनुभवहरुका बारेमा बताएका थिए । यस्तै स्वदेश प्रस्थान गर्नु पूर्व नरवणेले प्रधानमन्त्री केपी ओलीसँग समेत भेटवार्ता गरेका थिए ।
यसअघि बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यालेवी भण्डारीबाट उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको थियो भने प्रधानसेनापति थापाले उनको सम्मानमा जङ्गी अड्डामा रात्रीभोज आयोजना गरेका थिए ।
शुक्रबार नै जङ्गी अड्डामा भएको औपचारिक भेटवार्तामा दुई प्रधान सेनापतिबीच आपसी सुरक्षा चासोका विषयहरुमा खुला छलफल भएको थियो । भेटवार्ताकै क्रममा दुई सेनाबीच उच्चस्तरीय भ्रमण र तालिमहरु लगायत अन्य सहयोगका क्षेत्रमा थप विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो ।
यस भ्रमणले दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं विस्तार गर्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।