गत भदौमा मात्रै आईपीओ बिक्री गरेको रिलायन्सको खुद बीमाशुल्क ९२ प्रतिशत बढ्यो |
काठमाडौं । गत भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणमा आईपिओ बिक्री गरेको रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार इन्स्योरेन्सको अधिकांश सुचकमा सुधार देखिएको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सले ४६ करोड ५२ लाख रुपैयाँ खुद बीमाशूल्क आर्जन गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ९१.९८ प्रतिशत बढी हो। अघिल्लो आवको सोही अवधिमा इन्स्योरेन्सले २४ करोड २३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
खुद बीमाशुल्कसँगै इन्स्योरेन्सको खुद नाफामा पनि सुधार देखिएको छ। गत आवको पहिलो त्रैमाससम्ममा १ करोड ८५ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको यस इन्स्योरेन्सले चालु आवको सोही अवधिसम्ममा ३ करोड ७३ हजार रुपैयाँ यस्तो नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ६२.४३ प्रतिशत बढी हो । सो अवधिसम्ममा इन्स्योरेन्सले बीमालेख धितोबापत १७ करोड ८९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबापत इन्स्योरेन्सले १५ लाख ५८ हजार रुपैयाँ आम्दानी गरेको छ ।
२ अर्ब १० करोड रुपैयाँ चुक्तापूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा असोज मसान्तसम्ममा १७ करोड ३० लाख १३ हजार रुपैयाँ, जीवन बीमा कोषमा १ अर्ब ३९ करोड ५६ लाख रुपैयाँ र महाविपत्ती कोषमा १ करोड ९२ लाख २४ हजार रुपैयाँ सञ्चित छ। गत आवको सोही अवधिसम्ममा क्रमशः १ अर्ब ४७ करोड रुपैयाँ, ११ करोड १० लाख रुपैयाँ र ५६ करोड ५२ लाख रुपैयाँ सञ्चित थियो ।
पहिलो त्रैमासको अन्त्यसम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७३ पैसा कायम भएको छ। त्यसैगरी, इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ १५ पैसा र मूल्य आम्दानी अनुपात १०४.७५ गुणा रहेको छ ।
यस आवमा इन्स्योलेन्सले ४ हजार १३८ बीमालेख जारी गरी ४८ करोड २८ लाख २८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने हालसम्म आर्जन गरेको कुल बीमाशुल्क २ अर्ब ७२ करोड ४१ लाख रुपैयाँ पुगेको छ । सो अवधिमा कुल १२ दाबी बापत ६ करोड ६६ लाख ५३ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ भने ४ दाबीबापतको ४७ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।