भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथी उपाधि प्रदान |

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेकी छन् ।
बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन् । नेपाल र भारतबीच एक देशका सेनापति अर्को देशको मानार्थ सेनापति हुने प्रचलन रहीआएको छ ।

भारतीय सेनाध्यक्ष नरवणे तीन दिने नेपाल भ्रमणको लागि बुधबार काठमाडौं आएका थिए । बुधबार नेपाल आएका नरवणे बिहीबार जङ्गी अड्डामा आयोजित विभिन्न कार्यक्रमहरुमा समेत सहभागी भएका थिए । सो क्रममा बिहान सैनिक मञ्चको वीर स्मारकमा पुष्पगुच्छा चढाई वीर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका जनरल नरवणेले जङ्गी अड्डामा सम्मान गारदको निरीक्षण गरेका थिए ।

उक्त अवसरमा उनले यसभन्दा अघि भ्रमणमा आएका अन्य विशिष्ट सैनिक पाहुनाहरु सरह जङ्गी अड्डा प्राङ्गणमा ओखरको बिरुवा रोपेका थिए ।

यस्तै प्रधान सेनापति पूर्णचन्द्र थापा र नरवणे बीच शिष्टाचार भेटवार्ता समेत भएको थियो । उक्त भेटवार्ताका क्रममा नेपाली सेनाका प्रधान सेनापति र मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको थियो ।

उक्त छलफलपछि भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाहरुका बारेमा प्रस्तुतीकरण गरिएको थियो ।
भेटघाट पश्चात् जङ्गी अड्डामै आयोजित अर्को कार्यक्रममा, नरवणेले फिल्ड अस्पताल स्थापनाको लागि सेनालाई एम्बुलेन्स, उपकरणहरु तथा अन्य स्वास्थ्य सामग्रीहरुका साथै भेन्टिलेटरहरु समेत हस्तान्तरण गरेको सेनाले जनाएको छ ।
नेपाली सेनाका तर्फबाट प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि भारतीय सेनाको लागि नेपालमै निर्मित १ लाख थान मेडिकल मास्क र शान्तिको प्रतिक भगवान बुद्धको प्रतिमा हस्तान्तरण गरेका थिए ।