युनाईटेड इदी–मार्दीको आईपीओ कात्तिक २७ गतेदेखि |
काठमाडौं । युनाईटेड इदी–मार्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले कात्तिक २७ गतेबाट सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गर्ने भएको छ ।
कम्पनीले दोस्रो चरणमा ८ लाख ७३ हजार ९१० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। यसअघि कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुकाको लागि ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको थियो । सोमध्ये बिक्री नभएको २ लाख ४३ हजार ९१० कित्ता सहित कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल शेयरमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी ८ लाख १२ हजार ७३६ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले जारी पूँजीको २५ प्रतिशत आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
कम्पनीले निष्काशन गर्न लागेको आइपीओमा सर्वसाधारणले छिटोमा कात्तिक २७ गतेदेखि मंसिर ३ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै शेयर बिक्री नभए ढिलोमा मंसिर ११ गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आइपीओमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।
सार्वजनिक निष्काशन गर्नका लागि गराइएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्राप्त गरेको छ । यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।
प्रकाशित विवरण पत्र अनुसार गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७६∕७७ मा कम्पनीको प्रतिशेयर नेटवर्थ ८५.८२ रुपैयाँ रहेको छ । चालु आव अर्थात आव २०७७∕७८ मा कम्पनीले प्रतिशेयर नेटवर्थ ९८.६९ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । त्यसैगरी, गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १२.९७ रुपैयाँ ऋणात्मक रहेको छ भने चालु आवमा ८.३३ रुपैयाँ धनात्मक हुने प्रक्षेपण गरेको छ ।
२०७६ असोज २० गतेदेखि माथिल्लो मार्दि खोला जलविद्युत आयोजनाबाट व्यापारिक उत्पादन शुरु गरेको यस कम्पनीले गत आवको अन्त्यसम्ममा विद्युत बिक्रीबाट १० करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको प्रति मेगावाट लागत २० करोड ३९ लाख ७६ हजार १४२ रुपैयाँ रहेको छ । कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ८.०९ वर्ष रहेको छ भने डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि १४.९६ वर्ष रहेको छ ।