माउण्टेन इनर्जीको आईपीओ कात्तिक २६ गतेदेखि |
काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले कात्तिक २६ गतेबाट सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गर्ने भएको छ ।
कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो । सोमध्ये कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गर्न लागेको हो । यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी १८ लाख ३० हजार २६५ कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन् ।
यस अघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गरेको थियो ।
कम्पनीले निष्काशन गर्न लागेको आइपीओमा सर्वसाधारणले छिटोमा कात्तिक २६ गतेदेखि मंसिर २ गतेसम्म आवेदन गर्न सक्नेछन भने सो अवधिमा सबै शेयर विक्री नभए ढिलोमा मंसिर १० गतेसम्म आवेदन गर्न पाइने व्यवस्था छ ।
आइपीओमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेका छन् ।
कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउछ ।