आईसीएफसी फाइनान्स र खल्तीबीच डिजिटल भुक्तानीका लागि सहकार्य |
काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले इन्टरनेट र मोबाइल बैंकिङ्ग सेवा प्रयोग गर्ने आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा प्रदान गर्न खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ । आईसीएफसी फाइनान्सका मानव संसाधन तथा सामान्य सेवा विभाग प्रमुख संजय थपलिया र खल्तीका निर्देशक अमित अग्रवालले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।
खल्तीसँगको सम्झौतापछि आईसीएफसी फाइनान्सका ग्राहकहरूले फाइनान्सको खाता डाइरेक्ट खल्तीसँग लिंङ्क गर्न सक्नेछन् । खातामा रहेको रकमबाट खल्तीको प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तानी सेवा उपयोग गर्न सक्नेछन् ।
यस साझेदारीले नेपालमा डिजिटल भुक्तानीको अवधारणामा अझ बढी सहयोग पुर्याउने अपेक्षा आईसीएफसी फाइनान्सले गरेको छ ।
सम्झौताअनुसार आईसीएफसी फाइनान्सले खल्ती डिजिटल वालेटलाई भर्चुअल मेसिन अपरेटिङ्ग प्रणाली प्रदान गर्नेछ । यसको माध्यमबाट ग्राहकहरूले अनलाइन र अफलाइनबाट खल्तीमा रकम लोड गर्न सक्नेछन्। आईसीएफसी फाइनान्सका ग्राहकले बैंक वाइन्डिङ्ग ई–बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, बैंक स्मार्ट, बैंकि चेकआउट जस्ता विभिन्न माध्यमहरूमार्फत खल्तीमा रकम लोड गर्न सक्नेछन् ।
खल्ती सन् २०१७ जनवरीमा सुरू भएको खल्ती नेपालको उदाउँदो मोबाइल भुक्तानी सेवा प्रदायक हो । यसबाट विभिन्न उपयोगिता बिल भुक्तानी सेवाहरू, मोबाइल रिचार्ज, डीटीएच रिचार्ज, आन्तरिक हवाइ उडानको टिकट बुकिंग, चलचित्र टिकट बुकिंग, विभिन्न कार्यक्रमको टिकट बुकिँग, होटल बुकिंग, अखबारको ग्राहक शुल्क तिर्ने लगायतका विभिन्न डिजिटल भुक्तान सेवाहरूका सथै विभिन्न अनलाइन साइटहरूबाट किनमेल गरेको बिल तिर्न सकिन्छ ।
खल्ती नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त भुक्तानी सेवा प्रदायक हो । खल्तीको प्रयोग गरेर नियमित रूपमा १० लाखभन्दा बढी व्यक्तिले विभिन्न बिल भुक्तानी गर्दैआएका छन् ।