प्रधानमन्त्रीसहित सबै मन्त्रीको दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने सरकारको निर्णय |

काठमाडौं । प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले दसैं भत्ता वापतको रकम कोरोना कोरोना जम्मा गर्ने निर्णय भएको छ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री तथा मन्त्रीहरुले दसैँ भत्ता वापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको सोमबारको पत्रकार सम्मेलनमा जानकारी दिए ।
‘मन्त्रिपरिषद्का सबै सदस्यहरुले दसैं भत्ता वापतको रकम कोरोना कोषमा कोरोना रोकथाम तथा उपचारमा सघाउने गरी जम्मा गर्ने निर्णय भएको छ’, उनले भने, ‘संघीय मन्त्रीपरिषद्को निर्णयको मर्म अनुसार प्रदेश सरकारका मन्त्रीहरुलाई पनि कोषमा जम्मा गर्न आग्रह गर्ने निर्णय भएको छ ।’
यसअघि कोरोना महामारीका बीच सांसदहरुले दसैँ भत्ता लिएको समाचार बाहिरिएपछि नेकपा र काँग्रेसले सांसदहरुले पाएको सो वापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरिसकेको छ । यस्तै पार्टी निर्णयअघि नै केही सांसदहरुले स्वतस्फूर्त रुपमा रकम फिर्ताको घोषणा समेत गरेका थिए ।
यसैबीच सरकारले नेपालीहरुको महान चाड भएपनि अहिलेको अवस्थालाई दृष्टिगत गर्दै सामान्य ढंगले मनाउन समेत अनुरोध गरेको छ ।