मन्त्रिपरिषद पुनर्गठन ː विष्णु पौडेल बने अर्थमन्त्री, कृष्णगोपाल सहरी विकास | ३ मन्त्री थपिए, कोही हटेनन्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । उनले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् ।
रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् । प्रधानमन्त्री ओलीले विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् । नेपाल कम्युनिट पार्टी (नेकपा) का महासचिव पौडेललाई सरकारको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् ।
यसअघि अर्थमन्त्री रहेका डा युवराज खतिवडा संवैधानिक रुपमा मन्त्रीमा रहिरहन नमिल्ने भएपछि उनले राजीनामा दिएसँगै अर्थमन्त्रालय पद रिक्त रहँदै आएको थियो ।
यस्तै कृष्णगोपाल श्रेष्ठ सहरी विकास मन्त्री बनेका छन् भने लिलानाथ श्रेष्ठ महिला बालबालिकामन्त्री बनेका छन् ।
यस्तै यसअघि महिला बालबालिका मन्त्री रहेका पार्वत गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् । अन्य मन्त्रीहरुमा भने यसअघिकै यथावत रहेका छन् ।
योसँगै मन्त्रिपरिषद २५ सदस्यीय बनेको छ । संविधानतः मन्त्रिपरिषद २५ सदस्यीय भन्दा बढी संख्याको बनाउन पाइने छैन । अब मन्त्री थप गर्नुपरेमा हाल रहेका मन्त्रिपरिषद सदस्यलाई हटाउनुपर्नेछ ।