नराम्रा कमेन्ट लुकाउने फिचर ल्याउँदै इन्स्टाग्राम |
इन्स्टाग्रामले स्वचालित रुपमा आपत्तिजनक कमेन्टहरु लुकाउने फिचर ल्याउने भएको छ । अनलाइन दुर्व्यवहार घटाउन इन्स्टाग्रामले यो फिचर ल्याउन लागेको हो ।
मंगलबार एपको दशौं वार्षिकोत्सवको अवसरमा कम्पनीले यो फिचर परीक्षण गर्ने घोषणा गरेको थियो ।
कार्यक्रममा इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले स्वयमं अनलाइन दुर्व्यवहारविरुद्ध लड्ने प्रतिबद्धता गरे ।
कम्पनीका अनुसार विगतमा प्रयोगकर्ताद्वारा रिर्पोट गरिएको कमेन्ट अन्य प्रयोगकर्ताले देख्दैन थिए। सोही तरिका जसरी नै अब नराम्रा कमेन्टहरु लुकाइने छ । ती कमेन्ट हेर्न चाहेमा प्रयोगकर्ताले ‘भिउ हिडन कमेन्ट’मा क्लिक गरेर हेर्न सक्नेछन् ।
नराम्रा कमेन्टहरु कम्पनीको ए.आइ प्रणालीको प्रयोगबाट पहिचान गरिरहेको इन्स्टाग्रामले बताएको छ ।
इन्स्टाग्रामले अनलाइन दुर्व्यवहारलाई कम गर्न यसअघि पनि केही प्रयास गरेको थियो ।
सिएनएन बिजिनेस अनुसार गत वर्ष एपले ’रेसट्रिक्ट’ नामक फिचर ल्याएको थियो । यदि कसैले नराम्रो कमेन्ट गरेको छ भने यस फिचरबाट सोही व्यक्तिले मात्रै देख्न सक्थे ।
साथै पुरानो फिचरमा कोहीले नराम्रो कमेन्ट पोस्ट गर्नुअघि नै एपले कमेन्ट अपमानजनक रहेको सुझाउने सुविधा थियो । यस्तो फिचरबाट मानिसलाई आफूले गर्न लागेको नराम्रो कामलाई दर्शाउने कोशिस गरिएको थियो ।
एपले चेतावनी दिने फिचर ल्याएपछि त्यस्ता कमेन्ट लेख्ने प्रवृत्ति कम हुँदै गएको इन्स्टाग्रामले बताएको छ ।
कसैलाई चोट पुग्ने गरी धेरै कमेन्ट गरेमा एपले थप चेतावनी दिने कम्पनीको भनाइ छ । चेतावनी दिएपछि एपमा ’नोटिफिकेसन’ आउँछ र यसले नराम्रो कमेन्ट हटाउन सुझाव दिन्छ ।
यदि कसैले कमेन्ट नहटाएमा ती व्यक्तिको एकाउन्ट डिलिट समेत हुनसक्ने कम्पनीले दाबी गरेको छ ।
हाल प्रयोगकर्तासँग फेसबुकले नराम्रो मान्ने कमेन्टहरु मात्र लुकाउन सक्ने विकल्प छ।