भदौ महिनामा १० लाख मोबाइल आयात, सबैभन्दा बढी आयात हुने बस्तुमा पर्यो |
काठमाडौं । चालू आर्थिक वर्ष २०७७∕७८ को साउन महिनामा सबभन्दा बढी डिजेल आयात भए पनि भदौमा मोबाइल आयातले उछिनेको छ । यसअघि सबभन्दा धेरै आयात हुनेमा डिजेल नै अग्रस्थानमा थियो ।
चालू आर्थिक वर्षको पहिलो दुई महिना, साउन र भदौको तथ्यांकअनुसार सबैभन्दा बढी मोबाइल आयात भएको हो ।
लकडाउनका कारण यातायातका साधन नचल्नु र अनलाइन कक्षा तथा घरमै बसेर कार्यालयको काम गर्दा मोबाइलको माग बढेको जानकारहरू बताउँछन् ।
उच्च माग भएकाले पछिल्लो समयमा बजारमा मोबाइल अभाव समेत भएको व्यापारीहरू बताउँछन् ।
भन्सार विभागको तथ्यांक अनुसार चालू आवको पहिलो महिना (साउन)मा ४ अर्ब १८ करोड रूपैयाँ मूल्य बराबरको ४ लाख ६७ हजार वटा मोबाइल सेट आयात भएको थियो ।
भदौ महिना त्यसमा दुई गुणाभन्दा बढी वृद्धि भई ९ लाख ९५ हजार मोबाइल सेट भित्रिएको भन्सारको तथ्यांक छ । यो परिमाणको मोबाइल सेट आयातका लागि देशबाट ७ अर्ब ९४ करोड रूपैयाँ बाहिरिएको भन्सारले जनाएको छ ।
लकडाउनमा चोरी निकासीको बाटो बन्द भएकाले पनि मोबाइल आयात बढेको देखिएको मोबाइल आयात संघका अध्यक्ष दीपक मल्होत्राले बताउँछन् ।
‘चोरी निकासीले ४० प्रतिशत बजार लिएको थियो, त्यो अहिले हामीले पाएका छौं,’ उनले भने । नेपाली बजारमा विश्वका विभिन्न देशबाट मोबाइल भित्रिने गरेका छन् । तीमध्ये चीनबाट ८ लाख ५ हजार, भारतबाट १ लाख ७६ हजार र भियतनामबाट १२ हजार मोबाइल सेट आयात भएको भन्सार विभागको तथ्यांक छ ।
पछिल्लो समय मोबाइल प्रयोगकर्ता बढ्दै गएकाले पनि मोबाइलको आयात बढेको हो । ग्रामीण क्षेत्रसम्म दूरसञ्चार पूर्वाधार तथा सेवा पुग्न थालेपछि विकट क्षेत्रमा पनि मोबाइल सेवाको प्रयोग तीव्ररूपमा भइरहेको छ ।
तराईमा भारतको खुला सीमाबाट पनि मोबाइल आउँछन् । ‘झिटी, गुण्टा आदेश २०७५’ ले पनि मोबाइलको बजारलाई व्यवस्थित गरेको छ । सो व्यवस्थाअनुसार वैदेशिक यात्रामा गएकाले नयाँ मोबाइल १ सेट मात्र ल्याउन पाइने छ ।