नेपालसहित ५९ राष्ट्रका विद्यार्थीलाई दुई वर्षभन्दा बढीको भिसा नदिने अमेरिकाको प्रस्ताव |

अमेरिकाले नेपाललगायत ५९ राष्ट्रका विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिने कानुन ल्याउने तयारी गरेको छ । त्यहाँको होमल्यान्ड सेक्युरिटी विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै विद्यार्थीको भर्ना अवधिको संरचनालाई परिवर्तन गर्न प्रस्ताव राखेको जानकारी दिएको हो ।
विभागले एफ, जे र आइ प्रकारको गैरआवसीय भिसा भएका विद्यार्थीलाई यस्तो कानुन ल्याउने प्रस्ताव ल्याएको हो । अहिले विदेशी विद्यार्थीलाई अमेरिकामा पढाइ नसकेसम्म भिसा दिने गरिन्छ ।
प्रस्तावित कानुनले ठगी कम गर्ने, राष्ट्रिय सुरक्षा बढाउने विभागको विज्ञप्तिमा उल्लेख छ ।
भक्स डटकमका अनुसार विभागले विशेष गरी आतंकवादलाई प्रायोजन गर्ने राष्ट्र इरान, सिरिया, सुडान, उत्तर कोरिया र भिसा अवधि सकिएपछि पनि १० प्रतिशत बढी विद्यार्थी अमेरिकामै बस्ने मुलुक, अप्रमाणित विद्यालय र इलेक्ट्रोनिक भेरिफिकेसन नभएका विद्यालयका विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिन प्रस्ताव गरेको हो ।
नेपालबाट गएका विद्यार्थीमध्ये १० प्रतिशत बढी भिसा सकिएर पनि अमेरिकामै बसेकाले नेपाल यो सूचीमा परेको हो ।
इन्स्चिट्युड अफ इन्टरनेशनल एडुकेसनको ओपन डोर्सको रिपोर्टअनुसार सन् २०१८∕२०१९ मा २४ हजार भियतनामी, १३ हजार नाइजेरियन, १३ हजार नेपाली र १२ हजार इरानी विद्यार्थी अमेरिकी विश्वविद्यालयमा भर्ना भएका थिए ।
उक्त प्रस्ताव कानुन बनेर लागु भए पाठ्यक्रमअनुसार अवधि थप्न सकिने विभागले जनाएको छ । तर त्यसकालाई चित्तबुझ्दो कारण हुनु पर्नेछ ।
विभागले अहिले ल्याएको प्रस्ताव कानुन बनेर लागू हुनेरनहुने भने प्रष्ट भइसकेको छैन । किनकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यसलाई अन्तिम चरणमा पुर्याउन केही महिनामात्रै बाँकी छ । सन् २०२१ जनवरी पछि नयाँ प्रशासन आएमा यो प्रस्ताव रद्द हुनेछ । ट्रम्प दोस्रो कार्यकाल पनि निर्वाचित भए भनेचाहिँ यो प्रस्ताव कानुन बनेर लागु हुने सम्भावना बलियो छ ।