वित्तीय पुनरुत्थानका लागि विश्व बैंकले २३ अर्ब ऋण दिने |

काठमाडौं । विश्व बैंकले नेपाललाई २० करोड अमेरिकी डलर ऋण दिने भएको छ। बैंकले फाइनान्स फर ग्रोथ योजना अन्तर्गत उक्त ऋण दिने भएको हो । कोभिड १९ले पारेको असर न्यूनीकरण तथा पनुरुत्थानका क्षेत्रमा खर्च हुने नेपाली रुपैयाँ २३ अर्ब ६३ करोड बराबर हुने उक्त ऋण विश्व बैंकले स्वीकृत गरेको छ ।
महामारीको समयमा वित्तीय संस्था तथा क्षेत्रमा परेको असर तथा बढेको जोखिम व्यवस्थापनका लागि यो ऋण परिचालन हुने छ । यो कार्यक्रमबाट पुँजी निर्माण, बीमा, भेन्चर क्यापिटल र निजी इक्वीटी निर्माण र विपत जोखिम लगानीका माध्यमबाट नियमन क्षमता विकास हुने विश्व बैंकको विश्वास छ । यसबाट नयाँ लगानीको अवसर पनि सिर्जना हुने बैंकको विश्वास रहेको छ ।
'यो कोभिड १९ को समयमा जनताको जीवन रक्षा गर्नु पहिलो प्राथमिकता हो । तर सँगै आर्थिक पुनरुत्थान पनि उत्तिकै आवश्यकता हो' विश्व बैंकका कन्ट्रि म्यानेजर फारिस हदाद जार्भोसले भनेका छन् ।
यो कार्यक्रमका सिर्जना हुने नियमकीय हस्तक्षेपत तथा सवलीकरणबाट घरायासी तहमै वित्तीय पहुँच बृद्धि हुने विश्व बैंकले बताएको छ ।