विदेशमा बस्ने नेपालीको पीडा बोकेको ‘सर्टमूभि’ ‘शुन्य’ सार्वजनिक |
विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरसले गर्दा थुप्रैका आँशुका थोपा परदेशकै माटोमा सिंचिन बाध्य भएका छन् । यस्तै विदेशीको पीडा पोखिएको एउटा मार्मिक र यथार्थप्रक घटनामा आधारित लघु चलचित्र (सर्ट मूभि) ‘शून्य’ बेलायतमा निर्माण भएको छ ।
करिब ९ मिनेट लामो यस मूभिलाई बेलायत निवासी निर्देशक एवं रंगकर्मी सनम कुमार बैरागले निर्देशन गरेका हुन् । यसैगरी बेलायतमा नै कर्मथलो बनाएका नेपाली चलचित्र अभिनेता ध्रुव दत्तको अभिनयले यस मूभिलाई थप जीवन्तता प्रदान गरेको छ ।
बेलायतमा आफ्नो दैनिकीसँग संघर्ष गरिरहँदा एक्कासी नेपालबाट आमा बितेको खबर फोन मार्फत जानकारी पाउँदाको पीडा, लकडाउनले गर्दा नेपाल जान नपाउँदाको छटपटी र आमाले भनेका शब्दहरुको गुन्जनले पिरोल्लिएको छातीको वेदनालाई कथाकार गोपी सापकोटाले चलचित्र मार्फत प्रस्तुत गरेका छन् । कोरोना भाइरस (कोभिड १९) को सेरोफेरोमा रुमल्लिएको यो सर्ट मूभि ‘शून्य’ ले विदेशमा बस्ने धेरै नेपालीहरुको कथा र व्यथाको प्रतिनिधित्व गरेको छ, विगत र वर्तमानमा घटेका घटनाको चित्रण गरेको छ अनि भविष्यको बारेमा एकपटक घोत्लिन बाध्य बनाएको छ ।
भिजन संसारको प्रस्तुति,अनि ‘शुन्य’ मा शन्तकुमार राईको छायांकन रहेको भने डीडी ईन्टरटेनमेन्टको साथ रहेको छ ।
कृष्णबहादुर लाम्गादेको निर्माणमा तयार भएको यस लघु चलचित्रको सबटाईटल ज्ञानेन्द्र रावतले गरेका छन् भने शशी थापा सुब्बा, सुस्मिता थापा, अभिमन्यू बैराग र सनम बैरागले स्वर दिएका छन् । सर्ट मुभी ‘शून्य’ लाई भिजन संसार प्लसको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।