आइतबारदेखि लिबर्टि इनर्जीको दोस्रो बजारमा कारोबार सुरु हुने |
काठमाडौं । लिबर्टी इनर्जीले साधारण शेयर कारोबारको लागि शुक्रवार नेपाल स्टक एक्सचेन्ज( नेप्से )मा सम्झौता गर्ने भएको छ ।
शुक्रवारको सम्झौता पछि आइतबारबाट शेयर कारोबार सुचारु हुने बताइएको छ । नेप्सेले दोस्रो बजारमा कारोबाररको लागि सिम्बोल प्रदान गरिसकेको छ । लिबर्टीको कारोबारको लागि “एलइसि“ सिम्बोल हुने छ ।
कम्पनीले भदौ ३ देखि ७ गतेसम्म साधारण शेयर निष्कासन गरेको थियो । निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको साधारण शेयर अघिल्लो सोमबार बाँडफाँड गरेको हो ।
आवेदन दिने सबै लगानीकर्ताले सेयर पाएका थिए । १० कित्ता देखि ३० कित्ताका लागि आवेदन दिने सबैले मागे अनुसारको शेयर पाएका हुन् । ३० कित्ताभन्दा माथि आवेदन दिने २५ हजार ६ सय २० जनाले ४० कित्ता पाएका थिए । सबैलाई ३० कित्तासम्म बाँडफाँट गरेर बाँकी रहेको शेयर गोला प्रथाबाट थप १० कित्ता वितरण गरिएको थियो ।
कम्पनीले सर्वसाधारणका लागि ३५ करोड ६४ लाख ९३ हजार रुपैयाँ मूल्यको ३५ लाख ६४ हजार ९ सय ३० कित्ता शेयर निष्कासन गरेको थियो । जसमा १ लाख ८५ हजार ९ सय ७५ जना आवेदकबाट ७१ करोड ६८ लाख ११ हजार रुपैयाँको आवेदन परेको थियो ।