विश्वभर कोरोना संक्रमणबाट २ सय ४३ नेपालीको मृत्यू, ६० शव अलपत्र |
काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा विभिन्न मितिमा थप ४३ जना नेपालीको निधन भएको यो साता पुष्टि भएको छ । गत मार्च महिना यता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ । यो सँगै साउदी अरबमा मात्रै संक्रमणका कारण निधन हुने नेपालीको संख्या ५२ जना पुगेको साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्र सिहं राजपुतले जानकारी दिएको समितिले जनाएको छ ।
यसका साथै यो साता कतारमा पनि थप २ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो । यो सँगै शनिवार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय ४३ पुगेको स्वास्थ्य समितिका संयोजक संजीव सापकोटाले बताए ।
स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, भारत, कतार, र साउदी अरब लगायतका देशमा कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ । समितिका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
कोरोना भाइरसका कारण हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका छन् ।