एनआरएन लघुवित्तको एकिकृत सेयर नेप्सेमा सूचीकृत, भदौ २१ बाट कारोबार |
काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले किसान माइक्रोफाइनान्स (कैलाली) र दिव्या लघुवित्त (काभ्रे)गरी दुई वित्तीय संस्थालाई गाभेपछि दुवै संस्थाको सेयर एनआरएन लघुवित्तको नाममा अद्यावधिक भएको छ ।
मर्जपछि यसरी अद्यावधिक भएको ३९ लाख २८ हजार ८८ कित्ता साधारण सेयर सेयर नेप्सेमा सूचीकृत गर्दै कारोबार फुकुवा गरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । सूचीकृत यो सेयर भदौ २१ बाट दोस्रो बजारमा कारोबार हुने भएको छ ।
गत असार २९ बाट एनआरएन लघुवित्तको नाममा तीनै संस्थाको एकिकृत कारोबार भएपछि नेप्सेले यसको सेयर सूचीकण गरेको हो ।
राष्ट्रियस्तरमा कार्यक्षेत्र हुनेगरी कैलालीको धनगढी उपमहानगरपालिमा केन्द्रीय कार्यालय रहेको एनआरएन लघुवित्तले १ः१ः१ को अनुपातमा हुनेगरी दुवै लघुवित्तलाई गाभेको थियो । एनआरएन लघुवित्तले गत फागुन १६ मा कैलालीमा साधारण सभाबाट किसान माइक्रोफाइनान्स र दिव्या लघुवित्तलाई गाभेर सेयर आदान प्रदान अनुपात निर्धारण गर्ने प्रस्ताव पारित गरेको थियो ।
गत वर्ष भदौमा सुदुरपश्चिमको अछाममा रहेको रामारोशन लघुवित्त वित्तिय संस्था र कैलालीस्थित क्रिएटिभ लघुवित्त गाभेर एनआरएन लघुवित्त संस्थाको नाममा यसले एकिकृत कारोबार गर्दै आएको थियो । चारवटा लघुवित्तलाई गोभेको एनआरएन लघुवित्तले एफपीओ जारी गर्न यही भदौ २० मा विशेष साधारणसभा बोलाएको छ ।
एनआरएनमा मर्ज हुनुअघि किसान माइक्रोफाइनान्सको चुक्ता पुँजी १० करोड ६६ लाख रुपैयाँ र दिव्या लघुवित्तको ७ करोड ७० लाख रहेको थियो । यस्तै, मर्जरअघि रहेका किसानको ५० र दिव्यको २८ शाखा कार्यालय पनि एनआरएनको नामबाट संचालनमा आएका छन् ।