पीसीआर मेसिन खरिद गर्न भाटभटेनीले विराटनगर महानगरका प्रमुखलाई दियो ५ लाख |
विराटनगर । भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङले विराटनगरमा पीसीआर मेसिन खरिद गर्न ५ लाख रुपैयाँ प्रदान गरेका छन् ।
विराटनगरमा गठन गरिएको ‘कोभिड–१९ कोष’ का संरक्षक एवम् महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई गुरूङका तर्फबाट भाटभटेनीका क्षेत्रीय व्यवस्थापक विनोद भट्टराई र विराटनगर शाखाका प्रमुख सरिता राईले ५ लाख रुपैयाँको चेक बुझाएका हुन् ।
कोरोना संक्रमितको संख्या बढेको अनुपातमा विराटनगरमा उपलब्ध पीसीआर मेशिनले छिटो रिपोर्ट दिन सकेको छैन। स्वाब पठाएको लामो समयपछि मात्रै रिपोर्ट आउँदा संक्रमणको जोखिम कम हुन सकेको छैन । यसलाई ध्यानमा राख्दै परीक्षणको दायरा बढाउन महानगरपालिका आफैंले पनि थप पीसीआर मेशिन ल्याउने तयारी गरिरहेको छ। यसका लागि महानगरपालिकाले बिभिन्न क्षेत्रबाट सहयोग रकम प्राप्त गरिरहेको छ ।
भाटभटेनीको सहयोग रकमको चेक प्रमुख पराजुलीलाई आइतबार चेक बुझाइएको शाखा प्रमुख राईले बताइन ।
यसअघि भाटभटेनीले विराटनगरमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई कोभिड नियन्त्रणका लागि २५ लाख रुपैयाँ सहयोग गरेको थियो ।