लिबर्टी इनर्जीको आइपीओ बाँडफाँड, आवेदकले १० कित्तादेखि ४० कित्तासम्म पाए शेयर |
काठमाडौं । लिबर्टी इनर्जीले सर्वसाधारणमा निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । आइपीओमा आवेदन गर्ने १ लाख ८८ हजार ३७३ आवेदकले योग्य आवेदकले १० कित्तादेखि ४० कित्ता सम्म शेयर हात पारेका छन् ।
एनआइबिएल एस क्यापिटलको कार्यलयमा गरिएको बाँडफाँडमा ९४ हजार ९०४ आवेदकले १० कित्ता शेयर पाएका छन् भने ४५ हजार ४८ आवेदकले २० कित्ता, ४८ हजार २२१ आवेदकले ३० कित्ता र गोलाप्रथाबाट २५ हजार ६२० आवेदकले थप १० कित्ता गरी ४० कित्ता शेयर पाएका छन् ।
लिवर्टीको आईपीओमा कुल १ लाख ८८ हजार ४९९ वटा आवेदन परेको थियो। जसमध्ये १२६ वटा आवेदन रद्द भएका छन् ।
३० कित्तासम्म माग गरेका सबै आवेदकलाई माग गरे जति शेयर वितरण गरिएको छ । ३० कित्ताभन्दा माथिको संख्यामा शेयर माग गर्ने ३६ हजार ५५८ मध्ये गोलाप्रथाका आधारमा २५ हजार ६२० आवेदकलाई थप १० कित्ता शेयर बाँडफाँड गरिएको हो ।
सामुहिक लगानी कोषका लागि छुट्याइएको १ लाख १२ हजार ५०० कित्ता शेयरमा आवेदन नपरेको क्यापिटलले जनाएको छ । उता कर्मचारीका लागि छुट्याइएको ४५ हजार कित्ता शेयरमा पनि ६ हजार १०० कित्ता शेयरमा मात्र आवेदन परेको छ । सामुहिक लगानी कोष र कर्मचारीले आवेदन नगरेको शेयर पनि सर्वसाधारणलाई वितरण गरिएको हो ।