साउन महिनामा भित्रियो ४ लाख ६७ हजार मोबाइल सेट |
काठमाडौं । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसले गर्दा गरिएको बन्दाबन्दीमा पनि मोबाइलको आयात भइरहेको छ । चालू आर्थिक वर्ष २०७७∕०७८ को पहिलो महिना साउनमा ४ लाख ६७ हजार गोटा मोबाइल सेट आयात भएको छ । सो परिमाणको मोबाइल सेट आयातको लागि देशबाट ४ अर्ब १८ करोड रूपैयाँ बाहिरीएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।
गत वर्ष साउनमा ३ लाख ६१ हजार मोबाइल सेट आयात भएको थियो । सो परिमाणको मोबाइल सेट आयातको लागि देशबाट २ अर्ब ४१ करोड रूपैयाँ बाहिरिएको छ ।
लकडाउनको समयमा अनलाइन कक्षा र घरमै बसेर कार्यालको काम गर्दा मोबाइलको माग बढेको छ । पछिल्लो समयमा बजारमा मोबाइलको अभाव समेत भएको व्यापारीहरू बताउँछन् ।
नेपाली बजारमा विश्वका विभिन्न देशबाट मोबाइल भित्रिने गरेको छ । ती मध्ये चीन, भेइतनाम, भारत लगायतका देशबाट बढी फोन आउने भन्सार विभागको तथ्याङ्क छ ।
पछिल्लो समय मोबाइल प्रयोगकर्ता बढ्दै जानाले पनि मोबाइलको आयात बढेको हो । ग्रामीण क्षेत्रसम्म दूरसञ्चार पूर्वाधार तथा सेवा पुग्न थालेपछि विकट क्षेत्रमा पनि मोबाइल सेवाको प्रयोग तीव्ररूपमा भइरहेको छ ।
तराईको खुल्ला बोर्डबाट पनि मोबाइल आउने गर्दछ । ‘झिटी, गुण्टा आदेश २०७५’ ले पनि मोबाइलको बजारलाई व्यवस्थित गरेको छ । सो व्यवस्थाअनुसार वैदेशिक यात्रामा गएकाले १ सेट मात्र मोबाइल ल्याउन पाइने छ ।