रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओमा २ गुणाभन्दा बढि आवेदन |
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले बिक्रीमा ल्याएको आइपीओमा शुक्रबार साँझसम्ममा २ गुणा भन्दा धेरै शेयर खरिदको लागि आवेदन परेको छ । विक्री प्रबन्धक सानिमा क्यापिटलले दिएको जानकारी अनुसार शुक्रबार साढे ४ बजेसम्ममा २.२३ गुणा धेरै शेयर खरिदको लागि आवेदन परेको छ ।
साढे ४ बजेसम्ममा २ लाख ९३ हजार ९२५ जना आवेदकबाट १ करोड २६ लाख ७० हजार ९६० कित्ता शेयर खरिदको लागि आवेदन परेको हो ।
इन्स्योरेन्सले बिहीबारदेखि ६३ लाख कित्ता शेयर बिक्रीमा ल्याएको छ । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । बाँकी ५६ लाख ७० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणले कम्पनीको आईपीओ भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन्। त्यस अवधिसम्ममा सम्पूर्ण शेयरको लागि आवेदन नपरेमा निष्काशन अवधि भदौ २२ गतेसम्म लम्बिनेछ ।
इच्छुक लगानीकर्ताहरु न्यूनतम १० कित्तादेखि अधिकतममा ६३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा अनुमति पाएका बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सक्नेछन् ।
इन्स्योरेन्सले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ्ग दिएको छ । यसले इन्स्योरेन्सको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ ।
इन्स्योरेन्सको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रूपैयाँ छ। एक अर्ब ४७ करोड रूपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता पूँजी कायम गरिसकेको इन्स्योरेन्सले ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । आईपीओ निष्काशन पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब १० करोड पुग्नेछ ।