समाज लघुवित्तको आइपीओमा दुई दिनमै ७९ गुणा बढी आवेदन |
काठमाडौं । समाज लघुवित्तले बिहिबारदेखि बिक्रीमा ल्याएको आइपीओमा शुक्रबार साँझ सम्ममा ७९ गुणा भन्दा धेरै आवेदन परेको छ । लघुवित्तको आइपीओमा ७९.१७ गुणा बढी आवेदन परेको हो ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले दिएको जानकारी अनुसार शुक्रबार बेलुका पाँच बजेसम्ममा २ लाख ९३ हजार ५८ आवेदनबाट ६३ लाख ८९ हजार ५२० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ ।
लघुवित्तले विहीबारदेखि प्रतिकित्ता १०० अंकित दरमा ८६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो । यसमध्ये १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । सर्वसाधारणले बाँकी ८० हजार ७०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा भदौ ८ गते हुनेछ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरोशेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।