रिलायन्स लाइफको आईपीओको विक्री आजबाट खुल्यो, ६३ हजार कित्तासम्म आवेदन दिन सकिने |
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) विक्री खुला भएको छ । इन्स्योरेन्सले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ६३ करोड रुपैयाँ बराबरको आईपीओ आज बिहिबार भदौ ४ गते देखि निष्काशनमा ल्याएको हो ।
इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको ६३ लाख कित्ता मध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । बाँकी ५६ लाख ७० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणले कम्पनीको आईपीओ भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस अवधिसम्ममा सम्पूर्ण शेयरको लागि आवेदन नपरेमा निष्काशन अवधि भदौ २२ गतेसम्म लम्बिनेछ ।
इच्छुक लगानीकर्ताहरु न्यूनतम १० कित्तादेखि अधिकतममा ६३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा अनुमति पाएका बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सक्नेछन् ।
इन्स्योरेन्सले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ्ग दिएको छ । यसले इन्स्योरेन्सको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ ।
इन्स्योरेन्सको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रूपैयाँ छ । एक अर्ब ४७ करोड रूपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता पूँजी कायम गरिसकेको इन्स्योरेन्सले ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । आईपीओ निष्काशन पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब १० करोड पुग्नेछ ।