पहिलो दिनमै लिवर्टी ईनर्जीको आईपीओ २८ प्रतिशत बिक्री |
काठमाडौं । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) पहिलो दिन २८ प्रतिशत बिक्री भएको छ । कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि निष्काशन गरेको आईपीमा २६ हजार १९० आवेदनबाट सो बराबरको शेयर माग भएको हो ।
बुधबार साँझ सम्ममा कम्पनीको आईपीओ २६ हजार १९० आवेदनबाट १० लाख २ हजार ६० कित्ता शेयर बिक्री भएको कम्पनीले जनाएको छ । यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको ३५ लाख ६४ हजार ९३० कित्ताको २८.१० प्रतिशत हो ।
कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने रकम ३७ करोड ५० लाख बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ३७ लाख ५० हजार कित्तामध्ये स्थानिय बासिन्दाहरुको लागि निष्काशन गरि बाँडफाँट नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत गरी ३५ लाख ६४ हजार ९३० कित्ता आईपीओ निष्काशनमा ल्याएको हो ।
प्रतिकित्ता १०० अंकित दरका सो शेयरमा न्यूनतम १० कित्ताका देखि अधिकतम १० हजार कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा भदौ ७ गते हुनेछ भने यस अवधिमा पर्याप्त आवेदन नपरे भदौ १७ गते सम्म आवेदन खुल्नेछ ।
कम्पनीले हाल २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ । हाल उक्त आयोजनाको टनेल निर्माण तथा पेनस्टक पाईप राख्ने काम सम्पन्न भइसकेको छ भने हेडवक्र्स तथा डिसेण्डर र पावर हाउसको तथा टेलरेसको सिभिल निर्माण कार्य समेत सम्पन्न भैसकेको छ ।
यस्तै पावर हाउसमा जडान गरिने आवश्यक इलेक्ट्रोमेकानिकल उपकरणहरु जडान कार्य कार्य अन्तिम चरण पुगेको छ । उक्त आयोजनाको निमार्ण कार्य करिब ९८ प्रतिशत सम्पन्न भएको छ भने कार्तिक मसान्त सम्मकमा आयोजनाको सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ ।
कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्राप्त गरेको छ । यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीको निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट लागत १८ करोड ५४ लाख ४३ हजार ८३७ रुपैयाँ रहेको छ। त्यसैगरी, कम्पनीको कुल अनुमानित लागत ४ अर्ब ६३ करोड ६० लाख ९५ हजार ९२१ रुपैयाँ ७२ पैसा रहेको छ। कम्पनीको विद्युत उत्पादन अनुमतिपत्र बहाल रहने अवधि ३० वर्ष रहेको छ। कम्पनीको लगानी फिर्ता हुने अवधि ८.२० वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६.७७ वर्ष रहेको छ।
कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १५ लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो। निष्काशन गरेको कुल शेयरमध्ये आयोजनाको अति प्रभावित क्षेत्र लमजुङ्ग जिल्लाको दोर्दी गाँउपालिकाको वडा नं. ६ र ७ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा स्थानियलाई ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता र प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका बाँकी वडा र बेशिसहर नगरपालिकाको वडा नं. ११ मा स्थानियलाई ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता बाँडफाँड गर्ने व्यवस्था गरिएको थियो। त्यसैगरी, सो बाहेकका लमजुङ्ग जिल्लाका सम्पूर्ण बासिन्दाहरुका लागि बाँकी ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता शेयर बाँडफाँड गरिएको थियो।
शेयर निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रूपैयाँ हुनेछ। जसमध्ये संस्थापक समूहको ७५ प्रतिशत हुनेछ भने स्थानीय बासिन्दाको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत हुनेछ ।
आर्थिक वर्ष २०७६∕७७ मा कम्पनीले ८ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ। त्यसैगरी, आर्थिक वर्ष २०७७∕७८ मा कम्पनीले १५ करोड ५० लाख रुपैयाँ र आर्थिक वर्ष २०७८∕७८ मा १९ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।
कम्पनीले यी आवहरुमा प्रतिशेयर नेटवर्थ क्रमशः १०५ रुपैयाँ ७४ पैसा, ११६ रुपैयाँ ७ पैसा र १२९ रुपैयाँ १२ पैसा तथा प्रतिशेयर आम्दानी क्रमशः ५ रुपैयाँ ७४ पैसा, १० रुपैयाँ ३३ पैसा र १३ रुपैयाँ ५ पैसा हुने प्रक्षेपण गरेको छ ।
कम्पनीको आईपीओ प्रत्याभूतिकर्ता प्रभु क्यापिटल लिमिटेड रहेको छ। विवरणपत्रद्वारा निष्काशन तथा बिक्री गरिने साधारण शेयरहरु बिक्री नभएमा प्रभु क्यापिटलबाट ३७ लाख ५० हजार कित्ता बराबर ३७ करोड ५० लाख रुपैयाँ बराबरको शेयर प्रत्याभूती गरिएको हो ।